अन्तरराष्ट्रिय व्यापारमा विविधीकरण



आयात निर्यातमा भारतकै अंश बढी

काठमाडौं,असोज २० । नेपालले वैदेशिक व्यापारलाई विविधीकरण गर्दै लैजाने बताउँदै आए पनि निकासी पैठारीमा भारतको अंश घट्न सकेको छैन । नेपालका प्रमुख वैदेशिक व्यापार साझेदार मुलुकमध्ये आयातनिर्यातमा भारतकै अंश सबैभन्दा बढी रहेको छ । भारतबाहेक अन्य देशसँग नेपालको वैदेशिक व्यापार खासै उत्साहजनक छैन ।

भन्सार विभागको २०७७/७८ को तथ्यांक हेर्दा यो वर्ष नेपालले कुल रू.१५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात ग¥यो भने रू. १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गर्‍यो ।

प्रमुख १० व्यापार साझेदार मुलुकमध्ये भारतबाट मात्रै रू. ९ खर्ब ७१ अर्ब ६० करोडको आयात भएको देखिन्छ भने निर्यात पनि भारतमै सबैभन्दा बढी भएको छ । गत आवमा रू. १ खर्ब ६३ अर्ब ७ करोडको वस्तु निर्यात भएको देखिन्छ ।

भारतपछि नेपालले बढी आयात गर्ने मुलुक चीन हो । चीनबाट गत आवमा रू. २ खर्ब ३३ अर्ब ८२ करोड बराबरको वस्तु आयात भएको छ । चीनतर्पmको निर्यात भने निकै कमजोर रहेको तथ्यांकले देखाउँछ । उक्त वर्ष रू. १ अर्ब २ करोडको मात्रै चीनमा निर्यात भएको थियो ।

नेपालले बढी वस्तु निर्यात गर्ने मुलुकमा भारतपछि संयुक्त राज्य अमेरिका पर्छ । समीक्षा वर्षमा अमेरिकामा रू. १३ अर्ब ७९ करोडको निर्यात भएको देखिन्छ ।

नेपालले बढी आयात गर्ने तेस्रो मुलुक अर्जेन्टिना हो । अर्जेन्टिनाबाट नेपालले रू. ४१ अर्ब ९४ करोडको सामान आयात गरेको छ ।

किन बढिरहेको छ, भारतसँगको व्यापार ?
अर्थशास्त्री केशव आचार्यका अनुसार नेपालले पछिल्लो समय व्यापार विविधीकरण गर्नै छाडेको छ । २०१७ सालदेखि सरकारले व्यापार विविधीकरण गर्ने भनेर विभिन्न व्यवस्था गर्‍यो । त्यतिबेला बनसदर व्यवस्था अर्थात् बनस प्रणाली थियो । जसले धेरै निर्यात गर्छ त्यसले कमाएको पैसाबाट आयात गर्न दिने भन्ने चलन ३०औं वर्षसम्म चलेको आचार्य बताउँछन् ।

२०३४ सालतिर द्वय विनिमयदर प्रणाली भन्ने आएपछि निर्यात गर्नेलाई प्रतिडलरको १६ रुपैयाँको दरले भुक्तानी दिने व्यवस्था गरियो । यो नीति २०४७ सालसम्म रहे पनि त्यसपछि व्यापार विविधीकरण गर्ने कुरा नै हराएको आचार्य बताउँछन् । उनका अनुसार सरकारले अन्तरराष्ट्रिय व्यापार विविधीकरण गर्नुपर्छ भन्ने नीति ठ्याक्कै छाडेको छ । भारत नजिक र खुला सीमाका कारण पनि आयातनिर्यात बढ्न गएको उनको बुझाइ छ ।

आचार्यका अनुसार भारतसँग व्यापार बढ्नुको अर्को कारण तेस्रो देशबाट आयातनिर्यात गर्ने कुरा भारतमा बस्ने कम्पनीहरूबाट हुन थाल्नु पनि एक हो । जस्तो, फोर्ड, हुन्डाई गाडीहरू जति पनि बजारमा देखिन्छन्, यी गाडी तेस्रो मुलुकका हुन् तर भारतमा बन्छन् ।

भारतसँग स्थिर विनिमयदर भएकाले पनि भारतसँगको व्यापार बढिरहेको हो ।

पूर्ववाणिज्य सचिव एवं हालका सञ्चार तथा सूचना मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल व्यापार विविधीकरणको नीति नेपालले अंगीकार गरे पनि त्यसबाट राम्रो प्रतिफल निस्कन नसकेको स्वीकार्छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्