३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला



विराटनगर,असोज २० । ३३ किलो सुन तस्करी र तस्करीमा भरियाको काम गर्ने मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अभियोगमा जिल्ला अदालत मोरङले मंगलवार मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, एकलाई ३ वर्ष र एकलाई ६ महीनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको छ ।

अदालतले गोरेसहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय तोकेको स्रेस्तेदार टिकेन्द्र वीरजंग राणाले बताए । उनका अनुसार शाक्य हत्यामा संलग्न ठहरिएका राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ ।

मुद्दाको मुख्य प्रतिवादी उर्लाबारी मोरङका गोरे भनिने चूडामणि उप्रेतीसहित ७७ जना थिए । आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा उनीहरूविरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो ।

कुल प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलाशले मुद्दालाई मुल्तबीमा राखेको राणाले बताए । त्यसबाहेका बाँकी प्रतिवादीको कुनै पनि कसुर पुष्टि नभएकाले इजलासले सफाइ दिएको उनले जानकारी दिए । गोरेको हकमा अपहरण तथा शरीर बन्धक कसुर प्रमाणित भएकाले सजाय निर्धारणका लागि १ महीनाभित्र पुनः पेशी हुने सुनुवाइ इजलाशले गरेको छ ।

सफाइ पाउने प्रहरी अधिकारीमा पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् । त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

गोरेको समूहले दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते साढे ३३ किलो सुन काठमाडौं ल्याएकोमा उक्त सुन गायब भएपछि त्यसको खोजी गर्ने क्रममा २०७४ फागुन १८ गते सनमको हत्या भएको थियो । सुन तस्करको भरिया रहेका सनमको हत्यामा गोरेको प्रत्यक्ष संलग्नता रहेको भिडियो पनि सार्वजनिक भएको थियो ।

हत्यापछि भारततर्फ सनको शव लैजाने प्रयास गरिरहेको अवस्थामा प्रहरीले विराटनगरबाट बा१२च ५९६३ नम्बरको गाडीमा शव बरामद गरेको थियो । त्यतिबेला गोरेका चालक एवं सहयोगीहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्की पक्राउ परेका थिए । उक्त  प्रकरणको अनुसन्धान गर्ने क्रममा प्रहरीले विभिन्न मितिमा ३८ क्विन्टल सुन तस्करी भएको तथ्य फेला पारेको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्