सोह्र श्राद्ध आजदेखि सकिंदै



काठमाडौं,असोज २० । सोह्र श्राद्ध अर्थात १६ औँ दिनसम्मको पितृपक्ष आज (बुधबार) सकिंदै छ । आज सोह्र श्राद्धको अन्तिम दिन पनि हो ।  दसैंअघि पूर्णीमाबाट सुरु हुने पितृपक्ष औंसीको दिनमा समापन हुने गरेको छ । आजको दिनलाई सर्वपितृ औंसी पनि भनिन्छ । पितृका लागि अत्यन्तै महत्वपूर्ण मानिने १६ दिन आफ्ना दिवङ्गत भएका पितृको सम्झना एवम् सम्मान गर्ने गरिन्छ ।

चाडपर्वअगावै पितृहरूप्रतिको समर्पण र सद्भावले हाम्रो संस्कारलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्छ । मृत्यु भएका पितृको तिथीमा हिन्दु धर्मावलम्बीहरुले कपाल खौरेर र नयाँ जनै फेरेर पितृकर्म अर्थात श्राद्ध गर्ने प्रचलन छ ।

आजको दिन चैँ यसअघि श्राद्ध गर्ने तिथी–मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिन्छ । त्यही भएकाले यस दिनलाई सोह्र श्राद्ध भनिएको हो । अन्तिम अर्थात १६ औँ दिन सोह्र श्राद्धको महत्वपूर्ण दिन हो । यस दिन पशुपति, बराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुन्ड, रिँढी, देवघाट लगायात विभिन्न धार्मिक तीर्थस्थलहरुमा गएर श्राद्ध पनि गरिन्छ ।

हिन्दु परम्परा अनुसार छोरा तथा नातिले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्ने चलन छ । हिन्दु संस्कारअनुसार श्राद्ध एकदमै महत्वपूर्ण कर्म हो । श्राद्ध परिवारभित्रको जेष्ठ पुत्र (छोरा)ले गर्ने परम्परा छ । यद्यपि सर्वपितृ औंसीका दिन भने पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्