कोशी कोरिडोर २२० केभी प्रसारण लाइन : पहिलो प्याकेजको निर्माण सम्पन्न



काठमाडौं,असोज २१ । कोशी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज (खण्ड) को निर्माण सम्पन्न भएको छ । उक्त आयोजनाअन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । त्यसमा २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने कार्य सम्पन्न भएको हो । नेपाल विद्युत् प्राधिकरण र भारतीय एक्जिम बैंकले हालै धनकुटामा एक कार्यक्रम गरेर पहिलो प्याकेजअन्तर्गतको प्रसारणलाइनको निर्माण सम्पन्न भएको घोषणा गरेका हुन् ।

यस खण्डको प्रसारण लाइन नेपाल सरकार र भारत सरकारको एक्जिम बैंकको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको हो । एक्जिम बैंकले यस आयोजनामा ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण दिएको थियो । यसमा अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको थियो ।

कोशी कोरिडोर प्रसारण लाइन आयोजनामार्पmत तुम्लिङटारदेखि वसन्तपुरसम्म करीब १ हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करीब १ हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करीब २ हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । साथै, एक नम्बर प्रदेशका जिल्लाहरूमा विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्नेछ ।

कार्यक्रममा एक्जिम बैकका प्रतिनिधि विश्वजित गर्गले उक्त खण्डको प्रसारण लाइन नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । उनले निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नं १ मा विद्युत् प्रसारण तथा वितरणका लागि मेरूदण्ड तयार भएको बताए ।

कोशी कोरिडोर र कावेली कोरिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै उनले आयोजनाअन्तर्गतका सबस्टेशनहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए ।

ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरूण र तमोर जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् ग्राहकसम्म पुर्‍याउन पूर्वाधार तयार भएको बताए । प्रसारण लाइन निर्माणपछि यसक्षेत्रका खोलानालामा जलविद्युत् आयोजना निर्माणका लागि निजीक्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको उनको भनाइ छ । प्राधिकरणले उक्त प्रसारण लाइनको दोस्रो सर्किटको तार तान्ने कार्य र सम्बद्ध सबस्टेशनहरूमा २२० केभी लाइन तथा पावर ट्रान्सफरमरहरूको क्षमता विस्तार गर्ने योजना पनि बनाएको छ । प्राधिकरणले त्यसका लागि आवश्यक लगानी जुटाउन नेपाल सरकारमार्फत भारतीय एक्जिम बैंकलाई पत्राचार पनि गरिएको छ । उक्त कामका लागि ४० मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

विश्वव्यापी कोरोना महामारी र त्यसका कारण सृजित बन्दाबन्दीले यो आयोजना प्रभावित भएको थियो । प्रसारण लाइनमा जडान हुने विभिन्न उपकरण र प्राविधिकहरू कोरोना महामारीका कारणले पूर्वनिर्धारित समयमा नै आयोजना स्थलसम्म आइनपुग्दा निर्माण प्रभावित भएको बताइएको छ । प्रसारण आयोजना तीनओटा प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो प्याकेजमा इनरुवा–तुम्लिङटार प्रसारण लाइन, दोस्रो प्याकेजमा तीनओटा सबस्टेशन र तेस्रो प्याकेजमा तेह्रथुमको वसन्तपुरको ताप्लेजुङको ढुंगेसाँघुसम्म प्रसारण लाइन तथा सबस्टेशनको निर्माण गर्ने योजना रहेको छ ।

अरुण र तमोर नदी तथा तिनीहरूका सहायक नदीहरूबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभीको कोशी कोरिडोर प्रसारण लाइन बनाउन लागिएको हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी कोरिडोरको निर्माण गरिएको हो । प्याकेज १ को निर्माण भएको छ भने २ र ३ को क्रमशः ८० र ७० प्रतिशत निर्माण सकिएको छ ।

आयोजनाको दोस्रो प्याकेजअन्तर्गतका संखुभासभाको बानेश्वर तथा तुम्लिङटार र वसन्तपुरमा २२०/१३२/३३ केभीका तीनओटा सबस्टेशनहरू र इनरुवा सबस्टेशनमा ‘बे एक्सटेन्सन’ ९ को काम अन्तिम चरणमा छन् । आयोजनाको सम्पूर्ण कार्य मार्च २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

इनरुवामा अहिले २२० केभीको सबस्टेसन निर्माणाधीन छ । उक्त सबस्टेशन निर्माण पूरा नहुन्जेलसम्मका लागि इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रूपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारणलाई २ भदौ २०७८ मा ३३ केभीमा चार्च गरिएको थियो ।

प्याकेज २ अन्तर्गत सबस्टेशनहरूको निर्माण र नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माणाधीन २२०/१३२/३३ केभी इनरुवा सबस्टेशन सम्पन्न गरी इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार प्रसारण लाइनलाई डिसेम्बर, २०२१ सम्ममा २२० केभीमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ । हाल ३३ केभीमा चार्च गरिएको प्रसारण लाइनमार्फत भोजपुर, संखुवासभा र तेह्रथुममा निजीक्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिएको छ । यसबाट वर्षाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ । तिरतिरे–वसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरू वर्षाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरूको जडितक्षमता करीब ३३ मेगावाट छ । संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी कोरिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइएको छ । कोरिडोरको पहिलो प्याकेजको इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिशन लि २५ फेब्रुअरी २०१६मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता १४ जुन २०१६मा कार्यान्वयमा आएको थियो । पहिलो प्याकेजको अनुमानित लागत ३ करोड ७३ लाख डलर (करीब ४ अर्ब) छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्