७ ओटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति लाभांश ?



दशैंमा लाभांश भने शेयरधनीले नपाउने   

काठमाडौं,असोज २२ । हालसम्म सात ओटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् ।

बैंकहरुले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  बिहीवारसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् ।

बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ ।     
     
लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ । बैंकले शेयरधनीलाई कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ ।     
     
बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीको हातमा लाभांश पर्नेछ । बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दशैंपछाडी मात्र लाभांश पाउने भएका छन् ।     
     
विगतका वर्षमा केही वाणिज्य बैंकले दशैंअघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दशैं अगाडि लाभांश नपाउने भएका हुन् ।     
     
कुन बैंकको कति ?     
     
गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।     
     
यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७ दशमलव ८९प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आवको नाफाबाट माछापुछ्रे बैंकले शेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त कम्पनीले कात्तिक २६ गतेका लागि साधारण सभा पनि बोलाइसकेको छ ।     
     
यस्तैगरी, कुमारी बैंकले शेयरधनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३दशमलव शून्य ६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।     
     
दशैंमा लाभांश नपाउने     
     
बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दशैं पछाडी मात्र लाभांश पाउने भएका छन् । विगतका वर्षमा केही वाणिज्य बैंकहरुले दशैं अघि नै वार्षिक साधारण सभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दशैं अगाडि लाभांश नपाउने भएका हुन् ।     
     
नेपाल बैंकर्स संघ अध्यक्ष भुवन दाहालका अनुसार यस वर्ष बैंकहरुले ढिलो गरेर वित्तीय विवरण सार्वजनिक गरेकोले अन्य प्रक्रियामा समेत ढिलाइ हुँदा लाभांश वितरणमा ढिलाइ भएको हो ।  ‘यस वर्ष वित्तीय विवरण सार्वजनिकमा ढिलाइ भयो’, उनले भने, ‘नेपाल राष्ट्र बैंकले भदौसम्मको आम्दानीलाई जोड्न पाउने व्यवस्था पनि गर्‍यो । यी व्यवस्थाले बैंकहरुले समय पनि पाए, त्यसैले पनि यसवर्ष दशैं आगाडि शेयरधनीलाई लाभांश दिन सकिएन ।’

दिपावली आसपासमा शेयरधनीले लाभांश पाउन सक्ने उनको भनाइ छ । हाल केही बैंकले साधारणसभा पनि बोलाइसकेका छन् । साधारण सभाले लाभांश पारित गरेपछि मात्र शेयरधनीले लाभांश पाउनेछन् ।     
     
विकास बैंकमा कामना पहिलो     
     
सात ओटा वाणिज्य बैंकले लाभांश घोषणा गरे तापनि विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंकमा कामना सेवा विकास बैंक भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।     
     
यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापूँजीको १८ दशमलव ५० प्रतिशत बोनस र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांशसमेत गरी १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित १९ दशमलव ४७ प्रतिशत लाभांश गत चार वर्षयताकै उच्च हो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्