तयार भयो चोभार सुक्खा बन्दरगाह



काठमाडौं,असोज २२ । सीधै काठमाडौंमा सामान भित्र्याउन मिल्ने गरी डेढ अर्ब रूपैयाँको लागतमा काठमाडौंमा चोभार सुक्खा बन्दरगाह निर्माण भएको छ ।

२०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको चोभार सुक्खा बन्दरगाह झन्डै ३ वर्षमा निर्माण सम्पन्न भएको हो । १८ महीनामा सम्पन्न गर्नेगरी सम्झौता भए पनि कोरोना भाइरस (कोभिड १९) लगायत कारणबाट निर्माणमा ढिलाइ भएको थियो ।

२२० रोपनी जग्गामा फैलिएको यो बन्दरगाह निर्माणका लागि रू. १ अर्ब २८ करोड लागत अनुमान गरिएको थियो तर निर्माण सम्पन्न भइसक्दा भने करिब डेढ अर्ब खर्च भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह सञ्चालनको तयारी भइरहेको जानकारी दिए । बन्दरगाह निर्माण भइसकेको भन्दै उनले अब यहाँ भन्सार, क्वारेन्टाइन, सुरक्षासम्बन्धी व्यवस्था, बैंक जस्ता स्टेक होल्डरहरू ल्याउने तयारी भइरहेको बताए ।

‘यो बन्दरगाह नाकाभन्दा टाढा भएको हुँदा वीरगञ्जको बन्दरगाह हुँदै सामान काठमाडौं ल्याउनुपर्छ,’ गजुरेलले भने, ‘त्यसमा सुरक्षाका विषयदेखि भन्सारले गर्ने तयारीहरूसम्म पर्छन् ।’ कहिलेदेखि सञ्चालन गर्न सकिन्छ अझै यकिन नभएको उनको भनाइ छ । यो सुक्खा बन्दरगाहमा तीनओटा गेट, तीनओटा भवन (भन्सार, क्वारेन्टाइन र प्रशासनिक), तीनओटा ठूला गोदाम, भन्सार प्रयोजनका लागि संरचना, पार्किङ र्‍याड, कन्टेनर पार्किङ र्‍याड निर्माण भई तयारी अवस्थामा छन् ।

यसैगरी उक्त बन्दरगाहमा ५०० ओटा कन्टेनर पार्किङ गर्न सकिन्छ भने सोही संख्यामा अन्य सवारीसाधनहरू पनि पार्किङ गर्न सकिन्छ । बन्दरगाह बनेसँगै काठमाडौंका व्यवसायीहरूले आफ्ना सामान यही ल्याएर उपभोक्तालाई छिटो अवधिमै उपलब्ध गराउन पाउनेछन् । यसले लजिस्टिक मूल्य पनि घटाउन मद्दत गर्छ । वीरगञ्ज बन्दरगाहबाट सीधै चोभार बन्दरगाहमा सामान ल्याउँदा केकतिले लजिस्टिक मूल्य घट्छ भन्ने विषयमा पनि अध्ययन गरिने उनको भनाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्