खाद्य व्यापार कम्पनीद्वारा साढे ३८ लाखको चामल विक्री



काठमाडौं,असोज २२ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करीब साढे ३८ लाख बराबरको चामल विक्री वितरण गरेको छ । यही असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसलबाट रू. ३८ लाख ५९ हजार बढीको चामल विक्री भएको हो । ३९ जिल्लाका ४३ विक्री केन्द्रबाट १८ सोमवारसम्म ५३० क्विन्टल चालम विक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार यस वर्ष कम्पनीले सहुलियत पसलमा ८ प्रकारका चामल विक्रीका लागि राखेको छ, जसमध्ये स्टिम जिरा मसिनो चामलको विक्री सबैभन्दा बढी छ । कम्पनीले काठमाडौं उपत्यकामा रहेका चारओटा विक्री कक्षसँगै अनलाइनमार्फत समेत खाद्यान्नको विक्री गर्दै आएको छ ।

त्यस्तै, ३४१ किलो कर्णालीको सिमी, २७२ किलो क्वाँटी, १९९ किलो मुङ खोस्टा दाल, २ हजार ६९५ किलो रहर दाल, ३ हजार ३५७ किलो मुसुरो दाल, ३ हजार ६५२ किलो मास, १ हजार २७५ किलो तीते फापर, ७५२ किलो आयो नून, ५४२ किलो गहुँ, १ हजार २०० किलो चिनी र १ हजार ३७८ किलो आटा विक्री गरेको कम्पनीले जानकारी दिएको छ । यसैगरी २ हजार ८४७ लिटर सूर्यमुखी तेल, १ हजार २४९ लिटर तोरीको तेल, ४ हजार १८६ लिटर भटमास तेल र ८ हजार २९२ लिटर डीडीसीको घ्यू विक्री भएको कम्पनीले बताएको छ ।

कम्पनीले दशैंका लागि प्रतिकिलो खसी तथा बोकामा रू. १० छूट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ विक्री केन्द्रबाट चामल, दाल, चिउरा, पीठो र खाने तेलमा रू. ५ तथा भटमासको तेल र सिमीमा रू. १० छूट दिएको छ ।

शनिवारदेखि खसीबोका विक्री
कम्पनीले आउँदो शनिवारदेखि खसीबोका विक्रीको तयारी भएको कम्पनीले जानकारी दिएको छ । ‘हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली विक्री काउन्टरबाट खसीबोका विक्रीको तयारी गरेका छौं, बिहीवार बेलुका खसीबोका आइपुगे शुक्रवार बिहानदेखि वा शुक्रवार बेलुका आइपुगे शनिवारदेखि नै विक्री गर्छौं,’ सूचना अधिकारी न्यौपानेले भनिन् ।

कम्पनीले यस वर्षको दशैंका लागि मुस्ताङबाट च्यांग्रा नल्याएपछि दाङ र मकवानपुरबाट पहिलो लटमा १ हजार ७०० खसीबोका ल्याउने जानकारी दिएको छ । दुई जिल्लामा खसीबोका खरीद भए पनि काठमाडौंमा कतिमा विक्री गर्ने भन्ने निर्धारण भइनसकेको जानकारी दिइएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्