भर्नाअघि बालबालिकाको आँखा परीक्षण



काठमाडौं, असोज २२ । विद्यालय भर्ना हुनुअघि बालबालिकाको अब अनिवार्य आँखा परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घले प्रत्येक विद्यालयमा भर्ना हुनुअघि नै बालबालिकाको आँखा परीक्षण गर्ने भएको हो ।

पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको आँखा परीक्षण हुनेछ । सरकारको नीति तथा कार्यक्रममा विद्यार्थी विद्यालय भर्ना हुनुभन्दा अगाडि अनिवार्य आँखा परीक्षण गराउनुपर्ने उल्लेख छ । सरकारको नीति तथा कार्यक्रमअनुसार नै सङ्घले विद्यालयहरूमा विद्यार्थीको आँखा परीक्षण गर्न लागेको हो ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेश मिश्रले भने “प्रत्येक स्थानीय तह र प्रदेश सरकारसँग समन्वय भइरहेको छ, सङ्घले विद्यालयहरूमा विद्यार्थीको आँखा परीक्षण गर्नेछ ।” साना बालबालिकाको आँखा परीक्षण गर्दा आँखासम्बन्धी सम्पूर्ण रोग पहिचान गर्न सहज हुन्छ । रोग पहिचान गरेपछि आँखासम्बन्धी अन्य रोग लाग्नबाट पनि बचाउन सकिन्छ ।

दूूरदृष्टिलगायतका समस्याले बालबालिका पीडित हुने गरेको भन्दै डा। मिश्रले समयमै आँखा परीक्षणले स्क्रिनिङ गर्नसमेत सहज हुने उनको भनाई छ । सङ्घअन्तर्गत हालसम्म २२ वटा आँखा अस्पताल, १२८ वटा आँखा उपचार केन्द्र र ४२ जिल्लामा सङ्घ स्थापना भई आँखा स्वास्थ्यसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम हुँदै आइरहेको छ ।

हरेक वडामा उपचार केन्द्र हरेक वडा तथा पालिकामा पनि आँखा उपचार केन्द्र स्थापना गर्ने कार्ययोजना सङ्घले बनाएको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्