प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद्‌ बिस्तार, को को बने नयाँ मन्त्री



काठमाडौं,असोज २२। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।

देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाउनुभएको थियो। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति कार्यालयले जारी गरेको सुचना अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिइएको छ। हमाल गैर सांसद हुनुहुन्छ ।

यस्तै रामकुमारी झाँक्री शहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। देउवाले नयाँ मन्त्रीलाई आज बेलुकी ५ बजे शपथ खुवाउने तयारी गरेको उहाँको सचिवालयले जनाएको छ।

४ दल सम्मिलित गठबन्धन भएकाले सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्री भएका छन् । उनीहरुको पृष्ठभूमि यसकारण पनि फरक खालको छ ।

प्रधानमन्त्री देउवा अहिले समेत गरी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । उनी पहिलोपटक गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा गृहमन्त्री भएका थिए । त्यसपछि विभिन्न समयमा उनी प्रधानमन्त्री भए । तर, उनको चार पटकको प्रधानमन्त्री कार्यकाल चुनौती र विवादले भरियो । यसपटक उनी भाग्यले प्रधानमन्त्री बनेका छन् ।

डडेलधुरामा जन्मिएर सोही जिल्लाबाट निर्वाचित हुँदै आएका देउवा हक्की स्वभावका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका उनी आउँदो कार्यकाल पनि नेतृत्वमा रहने प्रयासमा छन् । गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीका हुन् । जुझारु नेताको परिचय बनाएका उनी रुपन्देहीका हुन् । खाँणको काँग्रेसको युवापंक्तिमा बलियो पकड छ ।

ज्ञानेन्द्रबहादुर कार्की कानूनबाट सञ्चारमा लगिएका छन् । उनी विगतमा अर्थमन्त्री समेत भएका थिए । सालिन व्यक्तित्वका कार्कीको अन्तर पार्टी सम्बन्ध बलियो छ । उनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि सुमधुर सम्बन्ध छ । राष्ट्रपति विद्यादेवी भण्डारी नाताले बहिनी पर्छिन् ।

ऊर्जामन्त्री पम्फा भुसाल माओवादी जनयुद्धमा समेत सहभागी भइन् । कम्युनिस्ट राजनीतिबाट बढेकी उनी ललितपुरबाट निर्वाचित सांसद हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ काठमाडौंका हुन् । विगतमा नेकपा एमाले हुँदै विभाजनताका नेकपा मालेमा गएका उनी कम्युनिस्ट राजनीति परित्याग गरी अशोक राई नेतृत्वको पार्टीमा लागे । पछि उपेन्द्र यादवसँग पार्टी एकतापछि संघीय समाजवादी पार्टीमा पुगे । समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी एक भई बनेको जनता समाजवादी पार्टीमा रहे । उनी जसपाको नेतृत्व गर्दै सहकारमा सहभागी भएका छन् ।

विरोध खतिवडा मकवानपुरबाट निर्वाचित सांसद हुन् । नेकपा एमालेमा लामो समय बिताएका उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा छन् । खरो बोल्ने खतिवडाले सरकारमा जाँदा नेकपा एसको नेतृत्व गरेका छन् । उनी स्वास्थ्यमन्त्री बनाइएका छन् ।

जनार्दन शर्मा अर्थमन्त्री छन् । गृह र ऊर्जामन्त्री समेत भइसकेका उनी प्रचण्डका विश्वासपात्र मानिन्छन् । रुकुमबाट निर्वाचित शर्मा माओवादी जनयुद्धमा जनसेनाको डेपुटी कमाण्डर थिए ।
रक्षामन्त्री डा. मीनेन्द्र रिजाल विगतमा पनि मन्त्री भइसकेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रिजाल रामचन्द्र पौडेल समूहबाट मन्त्री भएका हुन् । मोरङबाट निर्वाचित सांसद रिजाल काँग्रेस महामन्त्री डा. सशांक कोइरालासँग नजिक छन् ।

खानेपानी मन्त्री उमाकान्त चौधरी बाराबाट निर्वाचित सांसद हुन् । विगतमा समेत मन्त्री भइसकेका चौधरी काँग्रेसको कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री भएका हुन् । उनी १३औं महाधिवेशनमा सिटौला समूहबाट कोषाध्यक्षमा चुनाव लडेर पराजित भएका थिए ।

डा. नारायण खड्का यसअघि नै परराष्ट्रमन्त्री भइसकेका छन् । उदयपुरबाट निर्वाचित खड्का विगतमा देउवाका विश्वासपात्र थिए । पछि सुशील कोइरालासँग नजिक भएका उनी फेरि देउवाको पक्षमा फर्किएका थिए ।

रेनुकुमारी यादवलाई यसपटक भौतिक पूर्वाधार जस्तो आकर्षक मन्त्रालय मिलेको छ । पञ्चायत पृष्ठभूमीकी यादव सुर्यबहादुर थापा प्रधानमन्त्री हुँदा राज्यमन्त्री थिइन् । सप्तरीलाई राजनीतिक क्षेत्र बनाउँदै आएकी यादव विगतमा राप्रपामा थिइन् । पछि मधेशी जनअधिकार फोरम हुँदै उपेन्द्र यादवसँग नजिक भइन् । यादवले जुन जुन दल बनाए उनी त्यतै लागिन् । अहिले यादवकै इच्छा अनुसार उनले भौतिक पूर्वाधार जस्तो शक्तिशाली मन्त्रालय पाएकी छिन् ।

पर्यटनमन्त्री प्रेमबहादुर आले डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । नेकपा एमालेबाट निर्वाचित भई केपी शर्मा ओली सरकारको पालामा वनमन्त्री समेत भएका उनी एमाले फुट्दा माधव नेपालको पक्षमा लागे । उनी पर्यटनमन्त्री बन्ने चर्चा यसअघि नै चलिरहेको थियो ।

दिलेन्द्रप्रसाद बडू दार्चुलाका हुन् । उनी पौडेल समूहबाट कानुनमन्त्री बनाइएका छन् । विगतमा सञ्चारमन्त्री समेत भइसकेका बडूले पौडेल पक्षबाट मन्त्री भएर बाजी मारेका छन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेल माओवादी नेता हुन् । उनी बाग्लुङबाट निर्वाचित भएका थिए । माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र पौडेल पहिलोपटक मन्त्री भएका हुन् ।

कृषिमन्त्री महिन्द्र राय यादव प्रतिनिधि सभाका जेष्ठ सदस्य हुन् । कम्युनिस्ट राजनीतिबाट आएका उनी विगतमा एमाले छाडेर मधेशवादी दलमा सक्रिय भएका थिए । जसपा विभाजन हुँदा पुरानो टिम छाडेर उपेन्द्र यादव पक्षमा लागेका थिए । यादव विगतमा मन्त्री भइसकेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी पहिलोपटक मन्त्री भएकी छिन् । रेग्मी काँग्रेसको भगिनी संस्था नेपाल महिला संघकी अध्यक्ष पनि हुन् । उनी देउवानिकट हुन् ।

भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठसँग कम्युनिस्ट राजनीतिको लामो अनुभव छ । विगतमा जनमोर्चा नेपालबाट चुनाव लडेकी उनी भेट्रान बाम नेता लिलामणि आचार्यकी पत्नी पनि हुन् । श्रेष्ठ माओवादीकी समानुपातिकतर्फकी सांसद हुन् ।

रामकुमारी झाँक्रीले राजनीतिमा छलाङ मारेकी छिन् । आफ्ना राजनीतिक गुरुहरु प्रतिनिधि सभा सदस्य बन्न संघर्षरत रहँदा उनी मन्त्री बन्न सफल भइन् । माधव नेपालनिकट रहेर पार्टी विभाजनमा साथ दिइन् । ओलीविरुद्ध माधव नेपालको संघर्षमा झाँक्री जुझारु बनेर प्रस्तुत भइन् ।

गजेन्द्रबहादुर हमाल यसअघि कमै सुनिएको नाम हो । नेपाली काँग्रेस पृष्ठभूमिका उनी वर्तमान मन्त्रीपरिषदमा सांसद नरहेका एकमात्र मन्त्री हुन् । उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्री बनाउन जोडबल गरेको चर्चा चलेको थियो ।

रामसहाय प्रसाद यादव पहिलोपटक मन्त्री भएका छन् । वनमन्त्री भएका उनी बाराबाट निर्वाचित सांसद हुन् । यादव उपेन्द्र यादवका विश्वासपात्र मानिन्छन् ।

कृष्णकुमार श्रेष्ठ किसान श्रेष्ठको रुपमा चर्चित छन् । श्रममन्त्री बनाइएका श्रेष्ठ नेकपा एमाले विभाजन हुँदा आश्चर्यजनक तरिकाले नेकपा एसमा लागेका थिए । पहिलोपटक मन्त्री बनेका उनले तनहुँबाट काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।

महेश्वरजंग गहतराज पहिलोपटक मन्त्री भएका छन् । माओवादीका प्रत्यक्ष निर्वाचित सांसद गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मिलेको छ । उनी प्रचण्डका विश्वासपात्र हुन् ।

उमेश श्रेष्ठ स्वास्थ्यराज्यमन्त्रीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारिएका छन् । शिक्षा क्षेत्रमा लामो समय काम गरेका उनी नेपाली काँग्रेसका समानुपातिकतर्फका सांसद हुन् ।

भवानीप्रसाद खापुङ स्वास्थ्यराज्यमन्त्री बनाइएका छन् । नेकपा एमालेबाट निर्वाचित उनी पार्टी विभाजन हुँदा माधव नेपाललाई साथ दिदै नेकपा एसमा लागेका थिए । उनी झलनाथ खनालनिकट मानिन्छन् ।

बोधमायाकुमारी यादव शिक्षाराज्यमन्त्री बनाइएकी छिन् । धनुषाकी यादव माओवादीको राजनीतिमा लामो समययता सक्रिय छिन् । उनी प्रचण्डको विश्वासपात्र मानिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्