ऋणले डुबेको एयर इन्डिया फेरि टाटा समूहको पोल्टामा



एजेन्सी,असोज २३ । भारतीय सरकारको स्वामित्वमा रहेको एयर इन्डिया अन्तत : फेरि टाटा समूहको पोल्टामा गएको छ। 

वित्त मन्त्रालयका अनुसार टाटा समूहले बोलपत्रमार्फत १८ हजार करोडमा एयर इन्डिया खरीद गरेको हो। सन् २०२१, १० डिसेम्बरसम्ममा कानूनत : एयर इन्डिया टाटा समूहलाई हस्तान्तरण भइसक्ने छ। तर स्वीकृत बोलपत्र अनुसार पाँच वर्षसम्म टाटा समूहले ब्रान्ड तथा लोगो परिवर्तन वा विक्री गर्न भने पाउने छैन ।

नागरिक उड्डयन सचिव राजीव बंशलका अनुसार टाटा समूहले एयर इन्डिया लिए पनि त्यहाँ  कार्यरत १२ हजार जना कर्मचारीहरु भने एक वर्षसम्म काममै रहन पाउने छन् । त्यसपछि भने उनीहरुलाई टाटा समूहसँग स्वेच्छिक सेवा निवृत लिने विकल्प हुनेछ।

टाटा समूहका अध्यक्ष रतन टाटाले शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमार्फत् फेरि एअर इन्डियालाई शसक्त बनाउने जिम्वेवारी आएको भन्दै उड्डयन क्षेत्रमा कम्पनीलाई चुनौतीसँगै सुनौलो अवसर आएको बताएका छन् ।

लिलामीमा सात ओटा कम्पनीले बोलपत्र पेस गरेका थिए जसमध्ये पाँच ओटा बोलपत्र खारेज भएका थिए भने अर्को बोलपत्र स्पाइस जेट कम्पनीको थियो । स्पाइस जेटले भने १५ हजार १०० करोड विड गरेको थियो  । एयर इन्डियालाई गत अगस्ट ३१ सम्म कुल ६१ हजार ५६० करोड रुपया कर्जा थियो।

अव टाटा सन्सले  यसमध्ये १५ हजार ३०० करोड रुपया कर्जा तिर्नुपर्ने छ । निजीकरणको प्रक्रिया पूरा भएपछि बाँकी ४६ हजार २६२ करोड रुपया कर्जा एयर इन्डिया बेचेपछि सरकारसमक्ष रहनेछ। यो कर्जा एयर इन्डियाको एसेट होल्डिङ कम्पनीको हुनेछ।

एअर इन्डिया यसअघि पनि सन् १९३२ मा जेआरडी टाटाले टाटा एअरलाइन्सको नामबाट सञ्चालनमा ल्याएका थिए, जसले घरेलु उडानहरु गर्दथ्यो । विभिन्न आरोह अवरोह पार गरेको टाटा एअरलाइन्सलाई सन् १९४८ मा भारतीय सरकारले खरीद गरेको थियो ।  एअर इन्डियासँग हाल १२५ ओटा न्यारो बडी र वाइड बडी प्लेन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्