एउटै च्याङ्ग्राको भाउ आधा लाख



पोखरा, असोज २३ । । नेपालको उत्तरी नाका डेढ वर्षदेखि ठप्प छ । माथिल्लो मुस्ताङ, गोरखालगायतका हिमाली क्षेत्रको दैनिकी नै नाकाले मुस्किल बनाइरहेको छ । नाका बन्द भएपछि हिमाली जनजीवन मात्र होइन, नेपालका पहाडी र शहरियाहरूको भान्सा पनि महँगो भएको छ ।

सधैँजसो च्याङ्ग्राले दशैँ मनाउने पोखरा र आसपासका उपभोक्तालाई यस वर्ष च्याङ्ग्राको मूल्य सुनेरै तर्सिनुपर्ने अवस्था आएको छ । यस वर्ष तिब्बततिरबाट भेडा, च्याङ्ग्रा झरेनन् । मुस्ताङका किसानको गोठमा भर पर्दा भाउ महँगो भएको व्यवसायीहरू बताउँछन् ।

तिब्बतबाट च्याङ्ग्रा नआएपछि स्थानीय किसानले भाउ ह्वात्तै बढाए । ‘गोठमै महँगो छ । बाटोमा भेटेरिनरी कर, पालिकाको कर तिर्दै ल्याउँदा मुल्यले आकाश छोयो’, व्यापारी गंगा केसीले भने, ‘मुस्ताङबाट पोखरा झार्न मात्र ११ दिन लाग्छ । हाम्रो दुस्ख छाडेर बेच्दा पनि बिक्न गाह्रो छ ।’

उनले मात्र २०० वटा भेडा, च्याङ्ग्रा झारेका छन् । रोजेर लिने च्याङ्ग्राको मूल्य न्यूनतम ४७ हजार रुपैयाँ पर्ने उनले सुनाए । ‘गोठमै ४१ हजार भन्छन् । सबै खर्च कटाउँदा ५० हजार नाघ्छ’, उनले थपे, ‘मूल्य भन्दा पनि डराउनुपर्ने अवस्था आएको छ । उपभोक्ता मूल्य सुन्दै फर्किँदै गर्नुहुन्छ ।’ अघिल्लो वर्ष २८ हजार रुपैयाँ हाराहारी पर्ने मूल्य झण्डै उत्ति नै महँगिएको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्