सहिद स्मारक सी डिभिजन लिग छनोटः भक्तपुरलाई पराजित गर्दै नुवाकोट युनाइटेड फाइनलमा



काठमाडाैँ,असोज २३ । सहिद स्मारक सी डिभिजन लिग छनौट खेल अन्तर्गत आज भएको सेमिफाइनल खेलमा नुवाकोट युनाईटेड फुटबल क्लब विजयी भएको छ । जीतसँगै नुवाकोट युनाईटेड फाईनलमा प्रवेश गरेको छ ।

नुवाकोट युनाइटेड फुटबल क्लबले सत्य संसार रिले फुटबल क्लब भक्तपुरलाई ट्राइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

निर्धारित समयमा दुबै टिमबाट १-१गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । मध्यान्तर पछिकाे दाेश्राे मिनेटमा १ गाेल गरेको नुवाकाेटले अग्रता कायम गरे पनि ९० मिनेट पछि थपिएको थप ४ मिनेटकाे अन्तिम सेकेन्डमा भक्तपुरलाई प्राप्त भएको कर्नर किक गाेलमा परिणत भएपछि बराबर भएको हाे।

खेलको म्यान अफ म्याच नुवाकोट युनाइटेडका गोलरक्षक जर्सी नम्बर १ का बिक्कीबहादुर तामाङ भए । असाेज २५ गते हुने फाइनलमा नुवाकोट युनाइटेडले रानीबन स्पाेर्टस क्लब बाजुरासंग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्