दशैको समयमा पारिश्रमिक रकम बाड्दै श्रमिकको घरघरमा पुगे नुवाकोट पञ्चकन्याका अध्यक्ष तामाङ



नुवाकोट, असोज २५ । दशैको समय, त्यसमाथि नगद रकम। सम्झिदै मन फुरुङ्गै हुने। यस्तै फुरुङ मन भएको छ पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ का स्थानीय श्रमिक नागरिकको।

दशैको समय, गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष सीता पराजुली। साथमा थिए प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट लगायत पञ्चकन्या गाउँपालिकाका कर्मचारी। पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले गाउँपालिकाको घ्याङस्वारा पर्यटकीय पार्कमा श्रम गरेका स्थानीयलाई श्रमवापतको रकम हस्तान्तरण गरे। सो पर्यटकीय पार्क निर्माणार्थ ज्याला स्वरुप संघीय सरकार प्रधानमन्त्री स्वरोजगार कोषले २ लाख २४ हजार चार सय अठचालीस रकम विनियोजन गरेको थियोे ।

पार्क निर्माण समयमा श्रम गरेका नागरिकको पारिश्रमिक अध्यक्ष तामाङले वितरण गरेका हुन। रकम हात लागेपछि स्थानीय चन्द्रबहादुर तामाङले हर्षित हुँदै भने- ‘अब दशै साच्चिकै खुसियालीपूर्वक मनाइन्छ।’ पार्क निर्माणका चरणमा खटिआएका ३७ जनालाई रकम प्रदान गरिएको छ।

सुरुमा स्थानीयले श्रमदान गर्नुपर्ने बताइए पनि आर्थिक कमजोर भएका स्थानीयलाई ज्यालास्वरूप रकम वितरण गरिएको अध्यक्ष तामाङले बताउँछन् । संघीय सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको प्राप्त रकम पार्क निर्माण समयमा घाँस तथा झाडी फाड्ने, होम स्टे निर्माणका क्रममा परिश्रम गरेका नागरिकलाई ज्याला रकमको रुपमा वितरण गरिएको सो फण्डका संयोजक सरोज खातीले बताए ।

खातीका अनुसार पर्यटन, सडक तथा पूर्वाधार निर्माणका लागि यस वर्षपनि ५० लाख प्राप्त भएको छ। सोही रकमबाट २ लाख २४ हजार ४४८ रकम मजदुरका लागी खर्चिदै आएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्