सोमपालको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सको लगातार दोस्रो जित
काठमाडौं,कात्तिक १३ । कप्तान सोमपाल कामीको आक्रामक अर्धशतक र बलिङमा चार विकेटको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ।
बिहीबार विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम दुई बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्यो। योसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। यसअघि उसले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। विराटनगर भने लगातार दोस्रो हारमा परेको छ।
कर्णालीको जितमा सोमपाल र गुल्शन झाले अविजित ६४ रनको साझेदारी गरे। ३२ बल खेलेका सोमपालले ४ चौका र ३ छक्कासहित अविजित ६२ रन बनाए। गुल्शनले २१ बलमा २ चौका र २ छक्काको मद्दतमा अविजित २८ रन जोडे।
दबाबपूर्ण अवस्थामा क्रिजमा आएका सोमपालले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए। उनी एनपीएलमा अर्धशतक बनाउने पाँचौँ खेलाडीसमेत बनेका छन्।
कर्णालीका लागि पवन सर्राफले ३६, अरिफुल इस्लामले ३२ र दीपक डुम्रेले २० रन बनाए। पवनले सोमपालसँग छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए।
विराटनगरका एंगेलो म्याथ्युजले ३ विकेट लिए भने चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले समान एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। उसका लागि लोकेश बमले सर्वाधिक ८७ रन बनाए। ५२ बल खेलेका उनले ९ छक्का र ३ चौका प्रहार गरे।
एंगेलो म्याथ्युजले ३१ तथा आन्द्रे रसेलले २७ रन बनाए। बसिर अहमदले १३ र शेहान जयसूर्याले ११ रन जोडे।
कर्णालीका कप्तान सोमपालले ४ ओभरमा एक मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए। मार्क वाटले एक विकेट हात पारे।
यसअघि बिहीबार नै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो।

