माग पूरा नभएको भन्दै डा. केसीद्वारा इलाममा सत्याग्रह सुरु
काठमाडौं,कात्तिक १३ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै डा. गोविन्द केसीले इलाममा सत्याग्रह सुरु गरेका छन्।
केसीले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन्। उनले न्यूनतम पूर्वाधार र आवश्यक जनशक्तिबिनै कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको र मेडिकल कलेजमा मापदण्डविपरीत विद्यार्थी सिट बढाइएको भन्दै आपत्ति जनाएका छन्।
उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष र गेटा विश्वविद्यालयका उपकुलपति तथा रजिस्ट्रारलाई निलम्बन गरी नियुक्ति प्रक्रिया र निर्णयबारे उच्चस्तरीय छानबिन गर्न माग गरेका छन्।
त्यस्तै, गेटा शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न, प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्न, इलाम, उदयपुर र डडेलधुरामा मेडिकल कलेज खोल्ने पुराना सहमति कार्यान्वयन गर्न तथा सार्वजनिक संस्थामा ७५ प्रतिशत छात्रवृत्ति व्यवस्था लागू गर्न उनको माग छ।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायका विषयमा गत साउन ११ गते सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै केसीले सत्याग्रह गर्नुपरेको बताएका छन्। उनले आफ्ना माग सम्बोधन नगरेबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

