२२ लाखभन्दा बढीका यौन खेलौना र चार्जर बरामद



कपिलवस्तु,कात्तिक १३ । कपिलवस्तुको कृष्णनगरबाट २२ लाख ९२ हजार १०० रुपैयाँ मूल्य बराबरका ७७६ थान यौन खेलौना र १ हजार ४७६ थान चार्जर बरामद भएका छन्।

कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्क नजिकै बेवारिसे अवस्थामा राखिएका ती सामग्री इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले बरामद गरेको हो। प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले सामग्री बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बरामद सामग्रीमध्ये महिलाले प्रयोग गर्ने ३५६ थान, पुरुषले प्रयोग गर्ने ९९ थान र हरियो रङका ३२१ थान यौन खेलौना छन्। त्यस्तै, १ हजार ४७६ थान चार्जर पनि बरामद गरिएको छ।

प्रहरीका अनुसार बरामद सामग्रीको कुल मूल्य २२ लाख ९२ हजार १०० रुपैयाँ रहेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट करिब डेढ किलोमिटर दूरीमा रहेको उक्त स्थानबाट बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्