चक्रवात ‘अर्नब’को प्रभाव : आज र भोलि भारी वर्षा, हिमपात र हुरीको सम्भावना



काठमाडौं,कात्तिक १३ । पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशभरको मौसम प्रभावित भएको छ। हिजोदेखि सुरु भएको मौसमी प्रभावका कारण आज र भोलि देशका अधिकांश स्थानमा वर्षा, हिमपात र हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर सामान्यतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने पूर्वानुमान छ। केही स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्नेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरी चल्ने सम्भावना पनि रहेको छ।

आज राति पनि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने र केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुन सक्ने चेतावनी दिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ।

सम्भावित वर्षालाई ध्यानमा राख्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न किसानलाई अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यहाँ पुगिसकेकालाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

वर्षासँगै चिसो बढ्ने, जोखिमयुक्त स्थान तथा सडक छेउमा पहिरो खस्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्नसमेत अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्