घान्द्रुक दुर्घटना : काठमाडौँबाट दसैँमा घुम्न गएका ८ जनाको मृत्यु, सबैको सनाखत



कास्की,असोज २५ । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँबाट घान्द्रुक घुम्न आएका ७ जना विद्यार्थी र जिप चालक रहेको प्रहरीले जनाएको छ । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जिप सोमबार दिउँसो दुर्घटना भएको थियोे । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री छन् ।

यसैगरी अन्य मृतकमा जीपमा सवार काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौँ गोङ्गबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए ।

घटनामा काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको र अस्पताल जानुपर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । भीरमा अड्किएको अवस्थामा उहाँलाई प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुर्घटनामा परेका काठमाडौँबाट घुम्नका लागि पोखरा आएको बताइन्छ । पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप अन्दाजी १:३० बजेको समयमा हुदुस्थित सडकबाट आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको थियोे।

प्रतिक्रिया दिनुहोस्