इजरायलमा रोजगारी : १ हजार १७५ कामदार छनोट



काठमाडौं,असोज २६ । बारम्बार श्रमसम्बन्धी सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो भइरहेका बेला इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकका रूपमा लिइने इजरायलले विभिन्न चरण पार गरिसकेका योग्य १ हजार नेपालीलाई लैजाने गरी गोलाप्रथाबाट छनोट गरेको हो ।

वैदेशिक रोजगार विभागले केही समय अघि इजरायल जान चाहनेका लागि परीक्षा लिएको थियो । यसमध्ये नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी १ हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो । सूचीकृतमध्ये १ हजार जनाको नाम मंगलवार गोलाप्रथाबाट छनोट गरिएको हो । इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट छनोट भएका नेपालीको नाम वैदेशिक रोजगार विभागमा पठाइसकेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले इजरायली पक्षबाट १ हजार १७५ जना नेपालीको नाम छनोट गरी आइसकेको बताए । उनले नाम आएका व्यक्तिहरूको अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट आएपछि इजरायल जान तयार हुने बताए । छनोट भए पनि मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्टमा गलत आएमा इजरायल ल जान पाउने अवस्था रहने छैन ।

मंगलवार भएको भर्चुअल कार्यक्रममा काठमाडौंबाट सहभागी भएका नेपालका लागि इजरायली राजदूत हनान गोडरले १ हजार नेपाली लैजाने काम अघि बढेको र यसबाट दुवै मुलुकका नागरिक लाभान्वित हुने बताए । उनका अनुसार इजरायलले नेपालबाट मुख्य कामदारलाई सहयोग गर्ने सहायक कामदारका रूपमा लैजान १ वर्षअघि प्रक्रिया थालेको थियो । उक्त प्रक्रियामा शुरूमा ९ हजार ७ सय नेपालीले आवेदन दिएका थिए । त्यसपछि अंग्रेजी भाषाको जाँच, अध्ययन गरेको दस्तावेजलगायत अन्य प्रक्रिया पूरा गरेर १ हजार ६०० जना छनोट भएका हुन् । तीमध्ये गोलाप्रथाबाट १ हजारलाई छनोट गरिएको हो । यो गोलाप्रथा सबैभन्दा पारदर्शी प्रक्रिया रहेको राजदूत गोडरले बताए । इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले यो कामदार छनोट प्रक्रिया हरेक चरणमा पारदर्शी रहेको बताइन् । ‘दुवै मुलुकका जनताले यसको फाइदा लिन सक्ने छन्,’ उनले भनिन् ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा मध्यएशिया, पश्चिम एशिया र अफ्रिका हेर्ने महाशाखाका प्रमुख हरीशचन्द्र घिमिरेले दुवै मुलुकको सम्बन्धबीच यो निकै महत्त्वपूर्ण खुड्किलो भएको बताए । इजरायल लका लागि नेपाली राजदूत अञ्जान शाक्यले अब इजरायलको कृषिक्षेत्रमा समेत नेपालीहरू लैजाने प्रक्रियालाई अघि बढाउन गृहकार्य गरेकी छन् । उनले इजरायलका कृषिमन्त्री ओडेड फोररसँग भेटवार्ता गर्दै त्यसका लागि पहल गर्न आग्रह गरेकी हुन् ।

राजदूत शाक्य र इजरायलका कृषिमन्त्री ओडेड फोररबीच यसै साता इजरायली संसद्मा भेटवार्ता भएको थियो । उक्त अवसरमा मन्त्रीका सल्लाहकार, कृषि मन्त्रालयका वरिष्ठ अधिकारी यकोभ पोलेग तथा दूतावासका द्वितीय सचिवसहितको उपस्थिति थियो । उक्त अवसरमा दुई देशबीच यसअघि नै सरकारी स्तरमा छाता श्रम सम्झौता कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भइसकेको उल्लेख गर्दै राजदूत शाक्यले अब कृषिक्षेत्रमा समेत नेपालीहरूलाई लैजान आग्रह गरेकी हुन् । जवाफमा मन्त्री फोररले राजदूत शाक्यलाई विदेशी कामदारको कोटा बढाएरै भए पनि नेपालबाट कृषक ल्याउन चाँडै सम्झौता गर्ने प्रतिबद्धता व्यक्त गरेको शाक्यले बताइन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्