आज विजयादशमी, यस्तो छ साइत



काठमाडौं,असोज २९ । शुक्रबार विजया दशमी, धार्मिक कथाअनुसार असत्यमाथि सत्यको विजय भएको दिन।

विशेषतः यस दिन भगवान् श्रीरामचन्द्रले रावणलाई वध गरेको धार्मिक मान्यता छ। यसै कथाअनुरूप तराईलगायत भारतका कतिपय स्थानमा रावण दहन गर्ने परम्परा छ। काठमाडौं उपत्यकामा भने रावण दहन वर्जित छ।

आसुरी शक्तिमाथिको विजयोत्सव मनाइने विजया दशमीमा दिनभर प्रायः हिन्दु धर्मावलम्बीले शुभ मान्छन्। यस दिन विवाह, व्रतबन्ध, घरको जगपूजा जस्ता कुनै पनि शुभ कार्य गर्नका लागि साइत हेर्न नपर्ने जनविश्वास छ।

तर नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने यस दिनका लागि बिहान १०ः०२ को शुभसाइत निकालेको छ।

‘हुन त यो दिन साइत हेर्न नपर्ने परम्परा पनि छ,’ समितिका अध्यक्ष रामचन्द्र गौतम भन्छन्, ‘तर शासनसत्तामा बस्नेका लागि शास्त्रले साइतबिना कुनै पनि कार्य नगर्नू भन्ने निर्देश दिन्छ र यसैअनुसार साइत चाहिने हो।’

शुभ साइतले शुभ फल र शक्ति दिन्छ। त्यसैले पनि प्रायःले शुभसाइत नै प्राथमिकता दिन्छन्।

तर साइतमा नभ्याए पनि यो दिनभर शुभ हुने भएकाले जुनसुकै समय टीका ग्राह्य हुने समितिका अध्यक्ष गौतम बताउँछन्।

प्रतिक्रिया दिनुहोस्