आँबुखैरेनीका छ किसानका व्यावसायिक सयपत्री फूलखेती
दमौली,कात्तिक १३ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र आम्दानी गर्ने उद्देश्यले किसानले पाँच रोपनी क्षेत्रफलमा आठ हजार सयपत्रीका बिरुवा रोपेका हुन् ।
पहिलोपटक सुरु गरिएको फूलखेतीमा संलग्न किसानले तिहारसम्म फूल उत्पादन गरी बजारमा बिक्री गर्ने लक्ष्य राखेका छन् । अहिले किसान फूलखेतीको हेरचाहमा जुटेका छन् ।
फूलखेतीमा संलग्न मैना राना आलेले तिहारमा पूजाआजा तथा घर सजावटका लागि प्रयोग हुने फूल स्थानीय किसानबाटै खरिद गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । स्थानीय उत्पादनको प्रयोग बढाउन सके किसानले आम्दानी गर्ने अवसर पाउनुका साथै बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता पनि कम हुने उहाँको भनाइ छ ।
त्यस्तै, किसान सीता श्रेष्ठले गाउँपालिकाले फूलखेतीका लागि प्रोत्साहन गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको बताउनुभयो । तिहार नजिकिँदै गएकाले उत्पादनले बजार पाउनेमा आफूहरू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
आँबुखैरेनी गाउँपालिकाले स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार तिहारमा सयपत्री फूलको माग बढ्ने भएकाले यसको व्यावसायिक खेतीमा किसान आकर्षित भएका हुन् ।
पाँच रोपनी क्षेत्रफलमा आठ हजार बिरुवा रोपेर सुरु गरिएको खेती सफल भए आगामी दिनमा फूलखेती विस्तार गर्न सहयोग पुग्ने केसीले बताउनुभयो ।

