तेलको भाउ प्रतिब्यारेल ८६ डलरमाथि उक्लियो



एजेन्सी,कात्तिक ५ । अन्तरराष्ट्रिय बजारमा बिहीवार कच्चातेलको भाउ बढेर प्रतिब्यारेल ८६ डलरमाथि उक्लिएको छ ।

 यो तीन वर्षकै उच्चहो । सीमित आपूर्ति र विश्वभर देखिएको ऊर्जा अभावका कारण तेल बजारले टेवा पाएको हो । भाउ बढ्ने क्रम धेरै नै तन्किएको संकेत पाएर केही लगानीकर्ताहरुले नाफा लिन थालेपछि भने भाउ धेरै बढ्न सकेन । 

अमेरिकाको ऊर्जा सूचना प्रशासनले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार कच्चा तेल र इन्धनको इन्भेन्टरीज सीमित भएको छ । 

बिहीवारको कारोबारमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ८६ डलर १० सेन्टको उच्चतम् विन्दुसम्म उक्लिएको थियो । यो सन् २०१८ को अक्टोबर यताकै उच्चहो ।

यो समाचार तयार पार्दाखेरि भने तेलको भाउमा उच्चतम् विन्दुबाट केही तल आएको थियो ।बिहीवार अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ भने शून्य दशमलव ७ प्रतिशतले घटी प्रतिब्यारेल ८२ डलर ८५ सेन्टमा आएको थियो । 

तेलको भाउमा केही करेक्सन देखिएको भए पनि समग्रमा मनोबल सुदृढ रहेको राकुटेन सेक्युरिटिजमा एक जना कमोडिटी विश्लेषक सातोरु ईशिदाले भने । 

पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र समूहबाहिर रहेका रुस लगायत तेल उत्पादकहरुको समूह ओपेक प्लसले उत्पादन बढाउने योजनामा सुस्त गतिमा अगाडि बढाएसँगै यस वर्षको अहिलेसम्मको अवधिमा ब्रेन्ट क्रुडको भाउ ६० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्