अजरबैजानमा ‘क्यास्पियन बेसिन स्टडिज’ कार्यक्रम : नेपालबाट निक्कीका उपाध्यक्ष सुनील केसी सहभागी



काठमाडौं,कात्तिक २९ । अजरबैजानको परराष्ट्र मन्त्रालयले विश्व कूटनीति सम्बन्धमा ‘क्यास्पियन बेसिन स्टडिज’ कार्यक्रम आयोजना गरेको छ । यही नोभेम्बर १३ देखि नोभेम्बर २० सम्म अजरबैजानको एडीए युनिभर्सिटीमा आयोजित उक्त कार्यक्रममा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की)का उपाध्यक्ष सुनील केसीको सहभागिता रहेको छ ।

केसी एशियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए)का संस्थापक एवं प्रमुख कार्यकारी अधिकृतका साथै नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेण्ट समिति अन्तर्गत थिंक ट्यांक समितिका सदस्य समेत हुन् ।

विश्वका २१ राष्ट्रका कूटनीतिज्ञ एवं थिंक ट्यांक सदस्यहरूको सहभागिता रहने सो कार्यक्रममा अर्थ र विकास, परराष्ट्र नीति, भूराजनीति, सुरक्षा, राजनीति, धर्म, समाज, ऊर्जा र वातावरण लगायत विषयमा अन्तरक्रिया हुँदै छ । साथै उक्त विषयमा अजरबैजान सरकारको तर्फबाट कूटनीतिक प्रशिक्षण प्रदान गरिने कार्यक्रम रहेको छ ।

अजरबैजानले उपलब्ध गराउँदै आएको उक्त प्रशिक्षण विश्व कूटनीतिक क्षेत्रमा एक सम्मानित र उत्कृष्ट प्रशिक्षणको रूपमा लिइन्छ । नेपालको तर्फबाट सो प्रशिक्षणमा सहभागी हुने केसी पहिलो व्यक्ति भएको एआईडीआईएद्वारा आइतवार जारी विज्ञप्तिमा उल्लेख छ ।

अजरबैजानमा रहँदा केसीले अजरबैजानका परराष्ट्र मन्त्री, राष्ट्रपतिका परराष्ट्र सल्लाहकार, अजरबैजानमा रहेका विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष लगायत उच्चपदस्थ व्यक्तिसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ । अजरबैजान हाल असंलग्न राष्ट्रहरूको अभियान (नन अलायन्मेन्ट भुममेन्ट नेशन)का अध्यक्ष राष्ट्रको रूपमा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्