नुवाकोट पञ्चकन्या गाउँपालिकाका कलाकार सम्मानित हुँदै 



नुवाकोट, मंसिर ७ । पञ्चकन्या गाउँपालिकाका कलाकारहरु सम्मानित हुने भएका छन् । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा रहेको पञ्चकन्या मन्दिरमा लाग्ने मेलाको विशेष अवसर पारेर गाउँपालिकाले सेवा क्षेत्रका कलाकारलाई सम्मान गर्ने भएको हो।

त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा गाउँपालिकाले एक बृहत कार्यक्रमको समेत आयोजना गरेको छ। कार्यक्रममा हास्य कलाकार सुबोध गौतम ‘एकदुमे’ लगायतका कलाकार आउने भएका छन् ।

कलाकार सम्पर्क समिति पञ्चकन्याका अनुसार गौतमसहित चर्चित लोक दोहोरी गायक/ गायिकाको उपस्थिति रहनेछ। सो समितिले झण्डै तीन दर्जन कलाकारहरुको जमघट हुने जनाएको छ। मंगलबार साँझदेखि सुरु भएको दुई दिने पञ्चकन्या मेलामा चर्चित लाइभ दोहोरीकी गायिका सुशीला लामा, बद्री सिटौला,रामजी खाड, कुमार भण्डारी, इन्द्र लामा, रामेश्वर भण्डारी लगायतको राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति रहनेछ।

घलेभन्ज्याङभन्दा २ सय मिटर पूर्वोत्तरमा अवस्थित ऐतिहासिक एवं धार्मिक स्थल पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्णपक्ष चतुर्थी र पञ्चमीका दिन मेला लाग्ने गर्दछ । विगतका वर्षमा दुई दिनसम्म व्यापक रुपमा जात्रा चल्ने गरे पनि पछिल्लो वर्षमा कोरोना महामारीका कारण सामान्य रुपमा पूजाआजामा सिमित हुँदै आएको थियोे। यस वर्ष भने कोरोना महामारी संक्रमण समेत कमि हुँदै गएकाले मेला विशेष हुने मन्दिर संरक्षण समितिले जनाएको छ।

यस वर्ष झाँकी व्यवस्थापन, कलाकार सम्पर्क समिति, सांस्कृतिक कार्यक्रमका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसार समितिलगायत विभिन्न तयारी समेत गाउँपालिकाले गरेकाले मेला विशेष हुने बुझिएको छ। गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङका अनुसार चर्चित तथा ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति हुनेछ। मन्दिरका मूल पूजारी लालबहादुर तामाङका अनुसार गाउँका धामी झाँक्री नाच, मादी (बत्ती) बाल्ने, पूजाआजा लगायत नियमित कार्यक्रम मन्दिरमा बढ्ने अपेक्षा गरिएको छ।

मेलाका लागि मन्दिर परिसर क्षेत्रमा सरसफाई समेत गरिएको छ भने स्थानीयले पसल पनि राख्न थालिसकेका छन् । यस वर्ष मंगलबार र बुधबार चल्ने मेलामा स्थानीय, पञ्चकन्या गाउँपालिकाका र अन्य शिवपुरी, दुप्चेश्वर, लिखुसहित काठमाडौंबाट समेत दर्शनार्थी भेला हुने गर्दछन् । सोही मन्दिरको नामबाट गाउँपालिकाको नामसमेत राखिएको हो।पञ्‍चकन्या मन्दिर परिसरमा रहेको सप्तकन्या थानमा स्थानीयले बलि दिने चलन छ । रोग हरण हुने र मनले चिताएको पुग्ने विश्वासले भाकल गर्ने, गाउँको देउतालाई बुझाउन भनेर नियमित पूजाको रुपमा बोका, कुखुरा, राँगा, लगायतको बलि चढाउने चलन पनि रहँदै आएको छ । यस वर्षको मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने  ‘पाँचकन्या मेला २०७८ तथा बृहत् साँस्कृतिक साँझ ” विशेष आकर्षण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्