अपराह्नपछि वर्षा र हिमपात कम हुँदै मौसममा सुधार आउने
काठमाडौं,कात्तिक १४ । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपाल नजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ। मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार अपराह्नसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने जनाइएको छ।
अपराह्नपछि भने मौसमी प्रणालीको प्रभाव कमजोर हुँदै वर्षा र हिमपातको क्रम घट्ने तथा मौसममा क्रमशः सुधार आउने महाशाखाले जनाएको छ।

