डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार
डोल्पा,कात्तिक १४ । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको खुलेको हो।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान करिब ६ बजे कैदीबन्दी गणना गर्दा ८ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको हो। घटनापछि कारागारको सीसीटीभी फुटेज जाँच गरी अनुसन्धान अघि बढाइएको उनले बताइन्।
फरार हुनेमा रुकुम पश्चिम, डोल्पा, सल्यान र जाजरकोटका ८ जना रहेका छन्। उनीहरूमध्ये ६ जना विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका थिए भने दुई जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।
फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक छन्।
त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय हरिबहादुर बुढा, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कपिल परियार तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ का ३२ वर्षीय आदेश भण्डारी पनि फरार भएका छन्। तिलक र आदेश चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।
सुरुङ खनेर उनीहरू कसरी कारागारबाट बाहिरिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरी तथा प्रशासनले फरार कैदीबन्दीको खोजी गर्नुका साथै घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

