त्रिशूली–बेत्रावती सडकखण्ड अवरुद्ध, अगिटारमा सडक भासियो



नुवाकोट,कात्तिक १४ । नुवाकोटको त्रिशूली–बेत्रावती सडकखण्डअन्तर्गत बेत्रावतीको अगिटार क्षेत्रमा पहिरोका कारण सडक भासिएपछि यातायात आवागमन अवरुद्ध भएको छ।

लगातारको वर्षासँगै आएको पहिरोले सडकको ठूलो भाग नदी किनारतर्फ भासिएपछि उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा प्रभावित भएको हो।

सडक भासिएपछि उक्त क्षेत्रमा यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ। वर्षा जारी रहे थप पहिरो जाने र सडकमा थप क्षति पुग्न सक्ने जोखिम रहेको छ।

यात्रु तथा सवारी चालकलाई उक्त सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। सडक खुलाउन तथा थप क्षति रोक्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्