निर्जीवन बीमा कम्पनीहरूको नाफामा संकुचन



काठमाडौं,मंसिर ९ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा घटेको छ । विशेषगरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको कुल नाफा घटेको हो ।

उनीहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल नाफा २ दशमलव १५ प्रतिशतले घटेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा भारतीय स्वामित्वका नेशनल र दि ओरियन्टल इन्स्योरेन्सले अभैm पनि यस्तो विवरण सार्वजनिक गरेका छैनन् । साथै, उनीहरू नेपाल स्टक एक्सचेन्जमा पनि सूचीकृत छैनन् ।

गत आवसम्म निर्जीवन बीमा कम्पनीहरूको नाफा बढेको नै थियो । तर, चालू आवमा भने पहिलो त्रैमासमै नाफा घटेको वित्तीय विवरणहरूले देखाएका छन् ।

समीक्षा अवधिमा दाबी भुक्तानी बढी गर्नुपर्दा नाफा घटेको नेपाल बीमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षत्री बताउँछन् । यसपालि बाढीपहिरोलगायत कारण बीमा भएका सम्पत्तिहरूमा क्षति पुगेको छ । फलस्वरूप बीमा कम्पनीहरूमा पनि सोहीअनुसार नै दाबी परेको छ । त्यसको असरले नै नाफामा संकुचन आएको उनको भनाइ छ ।

गत आवको समीक्षा सोही अवधिमा १८ निर्जीवन बीमा कम्पनीले रू. ९३ करोड ५२ लाख ८८ हजार खुद नाफा कमाएका थिए । तर, यसपालि भने त्यो भन्दा २ करोड १ लाख ५५ हजार कम अर्थात् ९१ करोड ५१ लाख ३३ हजार खुद नाफा कमाएको तथ्यांकमा देखिन्छ ।

संख्यात्मक रूपमा भने जम्मा ४ कम्पनीको मात्रा नाफा घटेको देखिन्छ । नेको, एनएलजी, प्रुडेन्सियल र अजोड इन्स्योरेन्सको नाफा क्रमशः ४२ दशमलव १८ प्रतिशत, ५ प्रतिशत, १० प्रतिशत र ७९ प्रतिशतले घटेको छ । यसबाहेकका कम्पनीको नाफा बढेको छ ।

समीक्षा अवधिमा नाफा कमाउने मामलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले रू. १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, दोस्रो स्थानमा रहेको प्रिमियरले ८ करोड १५ लाख र तेस्रो स्थानमा रहेको नेकोले रू. ७ करोड १९ लाख खुद नाफा कमाएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्