देशको बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ : अर्थमन्त्री शर्मा



काठमाडौं,मंसिर ९ । अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्था रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी एवं अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रम’मा अर्थमन्त्री शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकाले कोभिडपछिको पुनरुत्थानमा निजीक्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकिएको बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक पत्रकारहरूको क्रियाशील संस्था नाफिजले मुलुकको गतिविधिलाई सबै क्षेत्रबाट सकारात्मक तरिकाले सम्प्रेषण गर्न सहयोग गरेको बताए । अझै आर्थिक क्षेत्रमा गहन अध्ययन गरी उत्पादनशील क्षेत्रको प्रवद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले सरकार निजीक्षेत्र जस्तो सबल बन्न नसकेको भन्दै आर्थिक क्षेत्रमा समृद्धिका लागि साझेदारीका साथ अघि बढ्नपर्ने बताए ।
त्रिभुवन विश्वविद्यालयका केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख डा. शिवराज अधिकारीले पत्रकार सरकारको ‘वाचडग’को रूपमा रहने भएकाले नीति नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडका कारण आर्थिक क्षेत्रमा चुनौती सृजना भएको औंल्याए ।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सरकारले सामाजिक सुरक्षामा समेत ध्यान दिई राहत समेत प्रदान गरेको बताए । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा क्रमिक रूपमा सुधार भइरहेको बताए ।

आर्थिक अभियानका सम्पादकीय निर्देशक गौतम सम्मानित
यसैबीच, सोही कार्यक्रममा आर्थिक अभियान दैनिकका सम्पादकीय निर्देशक केशव गौतम सम्मानित भएका छन् । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले गौतमलाई सम्मान गरेका हुन् । विगत २ दशकदेखि आर्थिक पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप गौतमलाई सम्मान गरिएको हो । सो अवसरमा पत्रकार गौतमले आर्थिक पत्रकारले आर्थिक क्षेत्रमा खोजी गरी रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्