चितवन पुगेर प्रचण्डले भने-‘ओलीभन्दा शक्तिशाली भएको छुँ’

चितवन,मंसिर १८ । चितवन पुगेर नेपाल कम्युनिस्ट पार्टी माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू ओलीभन्दा शक्तिशाली भएको बताएका छन् ।
शनिबार चितवनको भरतपुरमा भएको प्रेस सेन्टरको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले प्रतिगमनको साथ छाडेर हिँडेपछि जनता आफ्नो पक्षमा आएको बताए । ‘हिजोभन्दा म आज शक्तिशाली भएको छुँ, जनता हामीसँग छन्, ओलीलाई घुँडा टेकाउन सफल भइयो’, उनले भने, ‘हाम्रो गठबन्धन बलियो भएको छ । गठबन्धन कदापी टुटदैन, ढुक्क भए हुन्छ ।’
अध्यक्ष प्रचण्डले भने, ‘नेकपा हुँदा ओलीभन्दा बाहेक कोही छैन भन्ने भएको थियो, तर अहिले त्यो अवस्था छैन, ओलीजी एक्लो भएका छन् ।’ जनता अब हामीसँग छन्, त्यसैले अब ओलीजी होइन म शक्तिशाली भएको छुँ’, उनले भने।
चितवनमा सम्पन्न भएको एमालेको महाधिवेशनलाई मण्डले शैलीको संज्ञा दिँदै अध्यक्ष प्रचण्डले भने ‘एमालेमा लोकतन्त्र छैन मण्डले शैली छ, एउटाले बोलेपछि अर्कोले बाेल्न पाउँदैन ।’ एमालेको महाधिवेशनलाई उनले पञ्चहरुको भेलाको संज्ञा दिए । एमालेमा वैचारिक बहस हुन छाडेकाले चाँडै पतन हुने दाबीसमेत उनले गरे ।