भोटेकोसी विपत्तिलाई समेटेर उद्धव कार्कीको तिहार गीत ‘तिम्रो माइती दिदी सकियो केही छैन ’



काठमाडौं,कात्तिक १४ । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, देउसी–भैलो, फूलमाला र परिवारसँगको रमाइलो सम्झना आउँछ। तर यस वर्ष भोटेकोसी बाढीले निम्त्याएको विनाश र त्यसले प्रभावित परिवारमा छाडेको पीडाले धेरैका लागि चाडपर्वको खुसीसमेत खोसेको छ। यही पीडा र बेदनालाई समेटेर लोकप्रिय गायक उद्धव कार्कीले नयाँ तिहार गीत ‘चाडपर्वको रहेन केही हर्ष’ सार्वजनिक गरेका छन्।

भोटेकोसी बाढीबाट प्रभावित नागरिकको दुःख, विछोड र पीडालाई गीतको मुख्य विषय बनाइएको छ। सामान्य अवस्थामा तिहारले ल्याउने उमङ्ग र उल्लासभन्दा विपत्तिपछि प्रभावित परिवारले भोग्नुपरेको अभाव, आफन्त गुमाउँदाको पीडा र खल्लो बनेको चाडपर्वलाई गीतमार्फत मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।

गीतले तिहारको सांस्कृतिक र पारिवारिक खुसीसँगै प्राकृतिक विपत्तिले मानिसको जीवनमा पारेको गहिरो प्रभावलाई उजागर गर्ने प्रयास गरेको छ। चाडपर्वको समयमा समेत पीडाबाट बाहिर निस्कन नसकेका बाढी प्रभावित परिवारको अवस्थालाई गीतका शब्द र भावले जीवन्त बनाएका छन्।

गीतमा उद्धव कार्की र पार्वती कार्कीको मुख्य स्वर रहेको छ। माला तामाङको लय रहेको गीतका शब्द मुरारी अधिकारीले लेखेका हुन्। गीतको भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका हुन् ।

शिवपुरी म्युजिकको आधिकारिक युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको यस गीतले मनोरञ्जनसँगै विपत्तिमा परेका नागरिकको पीडा र उनीहरूको अवस्थाप्रति समाजको ध्यानाकर्षण गराउने सन्देश बोकेको छ। तिहारको उल्लासबीच पीडामा रहेका परिवारको वेदनालाई सम्झाउने यो गीतले चाडपर्वको वास्तविक खुसी सबैको जीवनमा समान रूपमा फर्किन नसकेको यथार्थलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्