धादिङमा माइक्रोबस दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु, ९ यात्रु घाइते



धादिङ,कात्तिक १४ । धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने नौ जना यात्रु घाइते भएका छन्।

पोखराबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल कल्भर्टमा खसेको हो। दुर्घटनाका क्रममा सडकमा हिँडिरहेका स्थानीय ५० वर्षीय सिताराम अधिकारीलाई माइक्रोबसले च्यापेको थियो।

उद्धार गरी उपचारका लागि बैरेनी अस्पताल पुर्‍याइएका अधिकारीलाई चिकित्सकले राति ८ बजेर ४० मिनेटमा मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार उक्त हाइसमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा नौ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये छ जनाको बैरेनी अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ।

बैरेनी अस्पतालमा उपचारका लागि पठाइएका घाइतेमा लमजुङका ३० वर्षीय सजन गुरुङ, सोलुखुम्बुका ३१ वर्षीय चन्द्र नाछिरिङ राई र २९ वर्षीय भरत राई, स्याङ्जाका २७ वर्षीय नवराज चौलागाईं र २३ वर्षीय युवराज पौडेल तथा भोजपुरका २३ वर्षीय सुरेन्द्र तामाङ रहेका छन्।

त्यस्तै, काठमाडौं ट्रमा सेन्टरमा पठाइएका घाइतेमा पोखराकी तिला नेपाली, स्याङ्जाकी ३३ वर्षीया सुनिता राई र कास्कीका ३९ वर्षीय राजकुमार ढकाल रहेका छन्।

दुर्घटनापछि हाइस चालकलाई प्रहरी चौकी बैरेनीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्