नेपाल वायुसेवा निगमलाई खतराजन्य सामान ओसारपसार गर्ने अनुमति

काठमाडौं,मंसिर २१। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानी)लाई खतरायुक्त वस्तु (डेन्जरस गुड्स) ओसारपसार गर्ने अनुमति दिएको छ । ६ दशकदेखि साधारण कार्गाे मात्रै ओसारपसार गर्दै आएको निमगलाई यससँगै अब विभिन्न औषधिमूलक र विद्युतीय सामान ओसारपसार गर्न बाटो खुलेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको उपस्थितिमा प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले सोमवार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सोसम्बन्धी अनुमतिपत्र प्रदान गरे ।
निगमले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा अब निगमको आम्दानी बढ्ने तथा विदेशी मुद्रा आर्जन गर्न थप सहज भएको उल्लेख छ । निगमको ए–३३० जहाजको कार्गाे बोक्ने क्षमता १५ टन छ ।