अहिले प्राप्त भएको सफलता गठबन्धनबाट प्राप्त भएको होः अध्यक्ष प्रचण्ड

काठमाडौं,मंसिर २५ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्राप्त भएको उपलब्धि पनि गठबन्धनबाटै प्राप्त भएको बताएका छन् । नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उनले, ‘अहिले हामीले जे सफलता प्राप्त गरेको भनेका छौं, त्यो गठबन्धनबाट प्राप्त भएको हो । २००७ सालपछिका आन्दोलन र क्रान्तिमा दलहरूको एकता र गठबन्धनबाट सफलता प्राप्त भएका हुन् । उनले दलहरुबीच समझदारी कायम गर्ने र देशलाई सुशासनको युगतिर लैजान उचित नीति निर्धारण गर्न काँग्रेस महाधिवेशन सफल हुने विश्वास व्यक्त गरे।
उनले सबै राजनीतिक दल एकसाथ मिल्नुको विकल्प नरहेको बताए । विगतका सबै आन्दोलनहरू प्रमुख राजनीतिक दलहरूको एकताबाटै सम्भव भएको उनको भनाई थियो । ‘हामी एक्लै हिँड्ने अहंकार कसैले नगरौं,’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले राजनीतिक प्रतिष्पर्धा गरे पनि त्यहाँभित्र एकता गर्नै पर्ने हुन्छ। जसले अहंकार देखायो, त्यसको ओरालो यात्रा सुरु भयो भन्ने नेपालको इतिहासले देखाएको छ।’
महाधिवेशनबाट नयाँ नीति र नेतृत्व चयन गर्न लागेको नेपाली काँग्रेसलाई शुभकामना दिदै अध्यक्ष प्रचण्डले पञ्चायत, बहुमत र गणतन्त्र समेत दलीय सहकार्यबाट प्राप्त भएको स्मरण गरे । आगामी दिनमा काँग्रेसले शान्ति, संविधान र सहकार्यको बाटोबाट राष्ट्रको विकासका लागि काँग्रेस लाग्ने नीति र नेतृत्व चुनोस् भन्ने उनले शुभकामना दिए ।