काङ्ग्रेस महाधिवेशन: नुवाकोटबाट ककस्को पर्यो उम्मेदवारी



काठमाडौं,मंसिर २५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । केन्द्रिय समितिमा नुवाकोटबाट उम्मेदवारी दर्ता गराउनेको संख्या आठ पुगेको छ । महामन्त्रीमा एक जना र सात जनाले केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

महामन्त्रीमा डा. प्रकाशशरण महतको उम्मेदवारी परेको छ । केन्द्रिय सदस्यका लागि डा. रामशरण महत, अर्जुननरसिंह केसी, बहादुरसिंह लामा तामाङ, ध्रुबप्रसाद अधिकारी, कृष्ण कुइँकेल, चोकराज शाक्य र सिता मिजारले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीका उम्मेदवार डा. महत सभापति पदका उम्मेदवार शेरबहादुर देउवा प्यानलबाट छन् । केन्द्रिय सदस्यका उम्मेदवार ध्रुबप्रसाद अधिकारी र सिता मिजार पनि देउवा प्यानलबाट उम्मेदवार बनेको बुझिएको छ । डा. रामशरण महत र अर्जुननरसिंह केसी भने पौडेल पक्षका उम्मेदवार हुन् । पौडेल पक्षको समर्थनमा शेखर कोइराला सभापतिको उम्मेदवार बनेका छन् । त्यस्तै केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका चोकराज शाक्य र कृष्ण कुइँकेलको प्यानल भने भोलि थाहा हुने बताइएको छ ।

नुवाकोटका प्रमोदहरि गुरागाँइले पनि उम्मेदवारी दर्ता गराएका छन् । तर उनी पछिल्लो समय आफ्नो सदस्यता काठमाडौंमा सारेर उतैबाट राजनीति गरिरहेका छन् ।

शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्