अपांगता अधिकार सम्बन्धी ऐन कार्यान्वयन गर्न अपांग महासंघको माग



काठमाडौं,मंसिर २६ । राष्ट्रिय अपांग महासंघ नेपालले अपंगताता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गरेको छ । 

३० औं अन्तरराष्ट्रिय अपांगता दिवसको अवसरमा शुक्रवार काठमाडौंमा एक अन्तरक्रियात्मक कार्यक्रम गर्दै महासंघले यस्तो माग रखेको हो । 

महासंघले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको सहकार्यमा अपांगता भएका व्यक्तिको अधिकारसम्वन्धी ऐन, २०७४ को कार्यान्वयनमा देखिएका चुनौती र कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया गरेको थियो । सो सन्दर्भमा महासंघले यस्तो माग गरेको हो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष रमेश लामाले उक्त ऐनको  तत्काल प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । ऐनमा अपंगता भएका व्यक्तिलाई विभिन्न सेवासुविधा दिने भनेपनि त्यो अझै नपाएको उनको भनाइ छ । तसर्थ, यो तत्काल कार्यान्वयन हुनुपर्ने उनले बताए । 

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय की उपसचिव तथा अपांगता अधिकार प्रबद्र्धन शाखा प्रमुख जमूना मिश्रले ऐन कार्यानवयनमा सरकारको मात्र नभएर नागरिकको पनि उत्तिकै भूमिका हुुने बताइन । तसर्थ, यस ऐनको कार्यान्वयनमा सबैले पहल गर्नुपर्ने उनको भनाइ छ। 

विश्व बैंक र विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वको कुल जनसंख्याको १० देखि १५ प्रतिशत मानिस अपांग छन् । तर, नेपालमा भने यसको ठोस तथ्यांक छैन । सोही तथ्यांकलाई आधार मान्दा नेपालमा झण्डै ३० लाख मानिसले यस्तो जीवनयापन गरिरहेका छन् । 

राष्ट्रिय जनगणना २०६८  ले नेपालमा १ दशमलव ९४ प्रतिशत मात्र अपाङ्ता भएको देखाएको छ । तर, अन्तरराष्ट्रिय समुदायले  त्यो स्वीकार गरेको छैन । त्यो अवस्थामा यस सम्बन्धमा ठोस तथ्यांक तयार गर्नुपर्ने महासंघको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्