जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण, तीन स्पेनी पर्वतारोही शिखरमा



सिन्धुपाल्चोक,कात्तिक १५ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोहीले चुनौतीपूर्ण मानिएको उक्त हिमालको सफल आरोहण गरेका हुन्।

जुगल–२ को शिखरमा पुग्नेमा स्पेनका माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेज रहेका छन्। जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली शिखरमा पुगेर सुरक्षित रूपमा आधार शिविर फर्किएको छ।

जुगल–२ को पहिलो सफल आरोहणले जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि समेत सम्भावनाको ढोका खोलेको तामाङले बताउनुभयो। यस सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुग्ने उहाँको विश्वास छ।

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले चुनौतीपूर्ण मानिएको जुगल–२ को पहिलो आरोहण गर्न सफल स्पेनी टोलीलाई बधाई दिँदै यसले नेपालको हिमाली पर्यटन र विशेषगरी जुगल हिमशृङ्खलाको पहिचान अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो।

जुगल गाउँपालिकाले हिमाल आरोहण, पदमार्ग प्रवर्द्धन तथा पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ। ‘गन्तव्य जुगल’ अभियानमार्फत यहाँका हिमाल, पदमार्ग तथा धार्मिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य गाउँपालिकाले लिएको छ।

यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ६ हजार १२६ मिटर अग्लो ग्याल्चेन पिकको आरोहण भएको थियो। त्यस्तै, २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात सदस्यीय टोलीले ६ हजार १८४ मिटर अग्लो जुगल–३ हिमालको आरोहण गरेको थियो।

विदेशी पर्वतारोहीले २०८१ वैशाखमा पहिलोपटक जुगल–१ हिमालको समेत सफल आरोहण गरेका थिए। जुगल–२ को पछिल्लो सफल आरोहणसँगै जुगल हिमशृङ्खला अन्तरराष्ट्रिय पर्वतारोहणको नयाँ गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्