नेपाल बैंकको साधारण सभाले पारित गर्‍यो १७ % लाभांश



काठमाडौं,पुस ३ । नेपाल बैंक लिमिटेडको साधारण सभा सम्पन्न भएको छ ।

शुक्रवार सम्पन्न ६२ औं वार्षिक साधारण सभाले १७ प्रतिशत लाभांश पारित गरेको हो । सभाले हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । बोनस पश्चात चुक्तापूँजी रू १४ अर्ब ४० करोड ५९ लाख ४ हजार पुगेको छ । 

 सञ्चालक समितिका अध्यक्ष सुमन राज अर्यालको सभापतित्वमा सम्पन्न सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/ ७८ को नाफा/ नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पनि पारित गरेको छ । 

यस्तै सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/ ७९ का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्नेलगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्