थानापति मन्दिरमा धान्यपुर्णिमाको अवसरमा भव्य मेला



नुवाकोट,पुस ३ । लिच्छवीकालिन इतिहाँस बोकेको जिल्लाको शिवपुरी गाउँपालीका वडा नं ८ स्थित थानापति मन्दिरमा धान्यपुर्णिमाको अवसरमा भव्य मेला लागेको छ । मेलामा नुवाकोट जिल्लाका साथै छिमेकी जिल्लाहरु काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, रसुवा लगायत विभिन्न जिल्लाबाट भक्तजनहरुको घुइँचो लागेको शिवपुरी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष पदम थपलियाले बताए।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सो मन्दिरमा लाग्ने मेलामा मनोकामना पूरा भएका तथा मनोकामनाका प्रस्ताव राख्नेहरुबाट ५ सयको हाराहारीमा महादिप र बत्ती बाल्ने भक्तजनको भीड लागेको अध्यक्ष थपलियाले बताए ।

यस्तो छ थानापति मन्दिरको ऐतिहासिक किम्बदन्ती

शिवपुरी गाँउपालीका ८ थानापतिमा रहेको उक्त मन्दीरको पौराणीक र एतिहाँसीक महत्वसंगै ठाँउको नाम थानापति राखिएको बताइन्छ । हजारौं बर्ष अगाडी हालको शिवपुरी गाउँपालीका ८ थानापति भित्र रहेको छहरे खोला र बोहरे खोलको बिचमा पर्ने स्थानहरुमा थपलियाहरुको बस्ती रहेको र उक्त स्थानमा रहेको बिर्ता जग्गाहरु राजाले हरण गरेपछि थानापतिले आफुहरु माथी अन्याय भएको भन्दै आत्मदाह गरेको किंबदन्तीहरु रहेको छ ।

बिर्ता जग्गा हरण भएपछि सवैतिर हार गुहार गर्दा समेत उक्त जग्गा पाउन नसकेपछि एकल महिला थानापती आमाले आफु सहित कान्छो छोरासंगै जलेर आत्मदाह गरेको बताइन्छ । तीन वटा छोराकी आमा थानापतिले एउटा छोरालाई पाटीभञ्जयाङ र अर्को छोरालाई सामरीभञ्ज्याङ नपुगी नहेर भनेर पठाएपनि आधाबाटो नपुग्दै दुवै छोराले आफनो घर तर्फ फर्किएर हेर्दामा आगाको मुस्लो देखेपछि हतार हतार घर र्फकंदा आमा र भाई जलेर खरानी भएको देखेका थिए ।

थानापतिले आत्मदाह गरेपछि सो आगोको मुस्लो दरबार सम्म पुगेको तथा राजाले जे खान खोज्यो किरा र फोहर देख्न थालेपछि आफना सेनालाई बुझ्न पठाँउदा बिर्ताहरेकोमा आत्महत्या गरेको थाहा पाएपछि थानापतिले आत्मदाह गरेको स्थानको जग्गालाई बिर्ताकै रुपमा राख्न आदेश दिएका थिए । तात्कालीन राजाको आदेश पछि सार्वजनीक बिर्ताको रुपमा रहेको उक्त जग्गामा थानापतिको नाममा मन्दीर निर्माण गरीको थियो ।

थानापतिको नाममा निर्माण गरिएको उक्त मन्दीर हाल पुरातत्व बिभाग मार्फत २ करोडको लागतमा पुनर्निमाणको भै सकेको छ । थानापतिले आत्मदाह गरेको कुरालाई पुष्टी हुने खालका जलेका काठका गोलहरु समेत मन्दिर भित्र देखिन्छ । अन्यायका बिरुद्ध आत्मदाह गर्ने थानापतिको मन्दिरको पुजा र प्रसाद नलगाई थानापतिका धेरै थपलियापरिवारहरुले दशैंको टिका समेत लगाँउदैनन् ।

प्रतिक्रिया दिनुहोस्