संविधानसभा सदस्य तथा रसुवाका एमाले नेता छेवाङतेन्जिङ तामाङको निधन



नुवाकोट,कात्तिक १५ । संविधानसभा सदस्य तथा नेकपा एमालेका संस्थापक नेता छेवाङतेन्जिङ तामाङको निधन भएको छ । उच्च रक्तचापसम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा नुवाकोटस्थित एक अस्पतालमा शनिबार उहाँको निधन भएको हो ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ निवासी तामाङको निधनले लोकतन्त्र र पार्टीलाई अपूरणीय क्षति पुगेको नेकपा एमालेले जनाएको छ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शोक सन्देश जारी गर्दै तामाङको निधनले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ । प्रजातन्त्र, लोकतन्त्र र विकासका लागि जनताको दुःख तथा समस्यामा साथ दिँदै आउनुभएका तामाङको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा क्षति पुगेको उहाँले बताउनुभएको छ ।

एमाले केन्द्रीय सदस्य विन्दा ढुंगानाले तामाङको निधनले पार्टीले अनुभवी, निष्ठावान् र समर्पित नेता गुमाएको बताउनुभएको छ । उहाँले दिवङ्गत तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा पार्टी पंक्तिप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्