कांग्रेसको देउवा पक्षको नुवाकोट जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित
नुवाकोट,कात्तिक १५ । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर अर्थात् देउवा पक्षको नुवाकोट जिल्ला अधिवेशन स्थगित भएको छ । कात्तिक १५ गते आइतबारका लागि तय गरिएको अधिवेशन केही पालिकाको अधिवेशन सम्पन्न हुन बाँकी रहेकाले अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
जिल्ला संयोजक श्रीराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला अधिवेशन स्थगित गरिएको जानकारी दिनुभएको छ । बाँकी पालिकाको अधिवेशन प्रक्रिया पूरा गरी जिल्ला अधिवेशनको नयाँ मिति तय गरिने कांग्रेस नुवाकोटले जनाएको छ ।
यसैबीच, नियमित महाधिवेशन पक्षधरले नुवाकोट क्षेत्र नं. २ को अधिवेशन सम्पन्न गरी ३५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । क्षेत्र नं. १ को अधिवेशन भने बाँकी रहेको जनाइएको छ ।
विदुरमा कांग्रेस नेता तथा केन्द्रीय प्रतिनिधि ध्रुवप्रसाद अधिकारीको उपस्थितिमा सम्पन्न अधिवेशनबाट खुला १०, महिला खुला ४, समावेशी १०, प्रजातन्त्र सेनानी २, ४० वर्षमुनिका २, अन्य २ र नवयुवातर्फ २ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
खुलातर्फ ध्रुवप्रसाद अधिकारी, हरिकृष्ण श्रेष्ठ, श्रीराम श्रेष्ठ, बासु सापकोटा, बैकुण्ठबहादुर पाण्डे, ध्रुव ढकाल, जयराम दाहाल, शुकदेव दाहाल, अर्जुनकुमार नेपाल र बसन्तजंग ठकुरी चयन भएका छन् ।
त्यस्तै, महिला खुलातर्फ विन्दादेवी अर्याल, सुनमाया तामाङ, अञ्जना अर्याल र हिराकुमारी शर्मातिवारी चयन भएका छन् । समावेशीतर्फ १०, प्रजातन्त्र सेनानीतर्फ गोकुलप्रसाद दाहाल र अच्युतराज महन्तगिरी तथा ४० वर्षमुनितर्फ किरणप्रसाद गजुरेल र पवित्रा ओझा चयन भएका छन् ।
अन्यतर्फ प्रकाश ढुंगाना र उमेश थापामगर तथा नवयुवातर्फ हेमन्त नेपाल र अप्सरा पन्त चयन भएका छन् । नवयुवातर्फ चयन भएका दुवै प्रतिनिधि २८ वर्षमुनिका हुन् ।
निर्वाचन समितिका संयोजक रामचन्द्र ढुंगेलका अनुसार निर्वाचित प्रतिनिधिहरूलाई जिल्ला अधिवेशनका दिन प्रमाणपत्र वितरण गरिनेछ । जिल्ला संयोजक श्रेष्ठले निर्वाचित क्षेत्रीय समिति पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिलाई स्वागत गर्नुभएको थियो ।


