बाढी प्रभावित नुवाकोटको पुनर्निर्माणका लागि अर्थमन्त्रीसँग बजेट माग



नुवाकोट,कात्तिक १५ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटका पूर्वाधार पुनर्निर्माण तथा प्रभावित नागरिकको पुनर्स्थापनाका लागि अर्थमन्त्रीसँग बजेट माग गरिएको छ । नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य रामकृष्ण भट्टराईले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा अर्थ मन्त्रालयका सचिवसँग छलफल गरी आवश्यक बजेटको व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।

गत भदौ १० गते ल्हेन्देखोलाबाट आएको बाढीले नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार चार स्थानीय तहका दुई हजार ८३१ घरमा क्षति पुगेको छ । त्यसमध्ये विदुर नगरपालिकामा मात्रै दुई हजार ५५४ घर प्रभावित भएका छन् । बाढीका कारण दुई हजार ७२३ जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।

सांसद लामिछानेका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अर्थ मन्त्रालयमा पेस भएका पुनर्निर्माणका योजनालाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन प्राथमिकतामा वर्गीकरण गरिएको छ । अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढाई तिहारअघि वा लगत्तै ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरेको जानकारी प्राप्त भएको उहाँले बताउनुभएको छ ।

पुनर्निर्माण योजनामा २८ वटा झोलुङ्गे पुल निर्माण तथा मर्मत, ग्रामीण सडक, पक्की पुल, खानेपानी, सिँचाइ, विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माण समेटिएका छन् । साथै कृषि तथा जीविकोपार्जन पुनर्स्थापना, प्रभावित तथा अभिभावकविहीन बालबालिकाको संरक्षण र विस्थापित परिवारको पुनर्वासलाई पनि प्राथमिकतामा राखिएको छ ।

बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल पुनर्निर्माणका लागि बट्टार–कुवापानी–भालडाँडा–पुनीगाउँलगायत विभिन्न ग्रामीण सडकको मर्मत तथा स्तरोन्नति प्रस्ताव गरिएको छ । त्यस्तै बेत्रावतीमा करिब १०० मिटर, तुप्चे र सिमचौरमा त्रिशूली खोलामाथि १२०–१२० मिटर तथा बुधसिंहघाटमा ३०० मिटरका पक्की पुल निर्माणको आवश्यकता औँल्याइएको छ ।

झोलुङ्गे पुलतर्फ बुधसिंहघाट, दर्शनटार, तारुकाघाट, बेत्रावती, चनौटे, खत्रीगाउँ, अर्चले, सोले, जिलिङ, पिमलटार र कोल्पुलगायतका स्थानमा पुल पुनर्निर्माण तथा नयाँ निर्माणका योजना अघि सारिएका छन् । सांसद लामिछानेका अनुसार झोलुङ्गे पुलका अधिकांश योजनाको ठेक्का प्रक्रिया अघि बढिसकेको छ । तीमध्ये स्विस संस्था हेल्भेटासले ठेक्का पाएको जानकारी प्राप्त भएको छ ।

यसैगरी सिमखेत, बालुवाखानी, काशीटार, बुधसिंहघाट, पिमलटार, माझीटार र केउरेनीलगायतका क्षेत्रमा खानेपानी आयोजना पुनर्निर्माण तथा त्रिशूली बजारमा ढल र फोहोरपानी प्रशोधन केन्द्र निर्माणको प्रस्ताव गरिएको छ । मत्स्य अनुसन्धान केन्द्र, बागवानी विकास केन्द्र र प्रदेशस्थित पशुसेवा कार्यालयको संरचना पुनर्स्थापनासँगै वैकल्पिक ऊर्जाका लागि ६० करोड रुपैयाँभन्दा बढीको सौर्य ऊर्जा जडान योजना पनि अघि सारिएको छ ।

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण, पुनर्वास र आर्थिक गतिविधि पुनः सञ्चालनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर काम अघि बढाउने सांसद लामिछानेले बताउनुभएको छ । उहाँका अनुसार प्रभावित क्षेत्रका वित्तीय संस्था, व्यवसाय तथा व्यापारको पुनर्मूल्यांकन गरी आवश्यक सहुलियत र पुनर्स्थापनाका उपायसमेत खोजिनेछ ।

प्रतिक्रिया दिनुहोस्