पहिरो पन्छाएपछि बेत्रावती–विदुर सडक सञ्चालन, स्याफ्रुबेँसीको काठे पुल बगायो
नुवाकोट,कात्तिक १५ । तीन दिनदेखिको वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको नुवाकोटको बेत्रावती नजिकैको त्रिदेशीय सडक मार्ग मर्मतपछि सञ्चालनमा आएको छ ।
वीरगञ्ज–गल्छी–विदुर–बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० को बेत्रावतीस्थित अगिटारमा शनिबार पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो । सडकमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सुचारु भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
तर, सडक माथिबाट ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले सावधानी अपनाएर यात्रा गर्न प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र विदुर–१० का वडाध्यक्ष गणेशकुमार नेपालले आग्रह गर्नुभएको छ ।
यसैबीच, रसुवाको स्याफ्रुबेँसीमा स्थानीयवासीले निर्माण गरेको काठे पुल भोटेकोशी नदीमा आएको बाढीले बगाएको छ । गोसाइँकुण्ड गाउँपालिका–५ स्थित पुल बगेसँगै गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाबीचको आवतजावत पुनः विच्छेद भएको छ ।
वैकल्पिक मार्गसमेत नहुँदा स्थानीयलाई आवतजावत गर्न तथा खाद्यान्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ । पुल पुनर्निर्माण नहुँदासम्म दुई गाउँपालिकाबीचको आवागमन प्रभावित हुने भएको छ ।

