कुमारी बैंक नक्कली लालपुर्जा प्रकरण : तिमिल्सिना सुरक्षित, बैंकिङ कसुरको मुद्दा नचल्ने



काठमाडौं,पुस ४ । गायक योगेश्वर अमात्यको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा बनाएर कर्जा लिइएको प्रकरणमा कुमारी बैंकका तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिना सुरक्षित देखिएका छन् । नक्कली लालपुर्जाका आधारमा कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको घटनामा बैंकिङ कसुर मुद्दा नचलाउने निर्णय हालै सरकारी वकिल कार्यालयले गरेसँगै उनी सुरक्षित देखिएका हुन् ।

बैंकले कर्जा उठाउने सुनिश्चितता गरेकाले गत बुधवार मुद्दा नचलाउने निर्णय भएको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकका कर्मचारीसहित १३ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाउन रायसहितको सिफारिश गरेको थियो । तर, विशेष सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरी पक्राउ परेकालाई हाजिरी जमानीमा छाड्न प्रहरीलाई निर्देशन दिएको छ । गायक अमात्यको बाराको विश्रामपुरमा रहेको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीलाई विक्री गरेको देखाएर नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट कर्जा प्रवाह भएको थियो ।

सो कम्पनीले बैंकको न्यूरोड शाखामा कर्जाका लागि निवेदन दिएको थियो । शाखाले धितो मूल्यांकन गरेर पठाउन वीरगञ्ज शाखालाई पत्राचार गरेको थियो । वीरगञ्ज शाखाका कर्मचारी सोनु ठाकुरले धितो मूल्यांकनको नक्कली कागजपत्रमा हस्ताक्षर गरेका थिए । कर्जा दिने अन्तिम निर्णय भने केन्द्रीय कार्यालयबाटै भएको थियो, जसमा बैंकका कर्मचारीद्वय अजित राई र गोपाल जोशीको प्रमुख कमजोरी देखिएपछि उनीहरूविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिश गरेको थियो ।

यही प्रकरणमा यसअघि केही अभियुक्तविरुद्ध लिखत किर्तेसम्बन्धी मुद्दा दायर भइसकेको छ, जसमा कुमारी बैंकको वीरगञ्ज शाखाका कनिष्ठ सहायक ठाकुर, नक्कली लालपुर्जाका आधारमा कर्जा लिने यशकुमार महर्जन र मुक्तिलाल गौतमलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो । त्यतिबेला पक्राउ परेका धितो मूल्यांकनकर्ता अजय चौरसियालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । गायक अमात्यको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा बनाएर लिइएको कर्जा प्रकरणमा कुमारी बैंकले सो कर्जा असुल गरिसकेको बैंकले बताउँदै आएको छ ।

तत्कालीन कामु सीईओ तिमिल्सिना कुमारी बैंकबाट प्रवाह भएको १९ करोड रुपैयाँको कर्जाको धितो नक्कली भएको थाहा भएलगत्तै सम्बन्धित व्यक्तिबाट कर्जा असुली पनि गरिसकिएको बताउँछन् । उनका अनुसार ३ महीनाअघि नै बैंकले नक्कली धितो भएको थाहा पाएपछि कर्जा चुक्ता गराउनेतर्फ बैंकले ‘एक्सन’ लिएको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्