छहरे-टोखा सडक खण्ड बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध



नुवाकोट, पुस ४ । नुवाकोट-काठमाडौ जोड्ने छोटो दुरीको मार्ग छहरे टोखा बन्द भएको छ। सोमबारदेखि सडकमार्गको सिस्नेरी भीरमा सडक स्तरोन्नतिका क्रममा चट्टान काट्नुपर्ने भएकाले सडक बन्द गरिएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ।

यसअघि कार्यालयले गत वर्षको चैत ५ गतेदेखि बन्द गरी निर्माण कार्य अगाडि बढाउने सूचना जारी गरेको थियो। आइतबारदेखि बन्द गराई सडक स्तरोन्नति गर्ने सूचना जारी भएपनि प्राविधिक कारणवस केहि दिन ढिलाइ गर्दै सोमबारदेखि सडक पुर्ण रूपमा बन्द गरी निर्माण कार्यलाई अगाडि बढाउन लागिएको सो खण्ड निर्माणको ठेक्का पाएको सिसन निर्माण सेवाकी सुजिता शाक्यले बताइन्।

उनले साझापथसंग भनिन् – ‘बाधा अवरोधका बाबजुद पनि विगतमा  सडक निर्माण गतिलाई अगाडि बढाएका थियौ वर्षाका कारण रोकिएको चट्टान काट्ने कार्य र सडक फराकिलो बनाउने काम बाकी नै रहेकोेले सोमबारदेखि पुनः सुचारु गरिने भएकाले थप यस ठाउँको बिकासका निम्ति सबैको साथ र सपोर्ट चाहियो।’

सिस्नेरी भीर थप चौडाई बढाउन आवश्यक जनशक्ति र औजार/साधन तयार गरिएको शाक्यले बताइन् । यसअघि साघुरो बाटो छेउ फलामको विगतमा बार लगाएर सवारी आवातजावत कायम गरिएको सो खण्ड १० मिटरको सडक कायम गर्न भीर काट्न लागिएको हो। त्यस्का निम्ति कुल ४० लाख रकम यसअघिनै विनियोजन भैसकेको छ।

भीर काट्दै जादा चट्टानको प्रकृति र निर्माण समय आकलन गर्न सकिने निर्माण सेवाकी शाक्यले बताइन्। यद्यपि स्थानीयले बैकल्पिक बाटो प्रयोग गरी साथ दिएमा दिनरात नभनी तोकिएको समयमा निर्माण कार्य सक्ने निर्माण सेवाले वचन दिएको छ। सडक निर्माण अवधिमा सडकखण्ड बन्द गर्न नहुने स्थानीयले बताउदै आएका छन्। वैकल्पिक सडकका रुपमा कायम भएको चापको बोट नजिकै अल्छे ढुङ्गा- सुनखानी ग्रामीणदेवी विद्यालयहुँदै थानाभञ्ज्याङ् छिचोल्ने सडकमा ठुला बस तथा हेभी सवारीसाधन चल्न नसक्ने भन्दै यथासक्य चाडो भन्दा चाडो भीर कटान सक्न स्थानीयले बताउदै अएका छन् ।

रातको समयमा सडक निर्माण गर्न स्थानीयहरुले सुझाव दिदै आएका छन् । तर साविक सडक साघुरो र भीर काट्नुपर्ने भएकाले रातको समयमा निर्माण र दिनको समयमा आवागमन कठिन हुने निर्माण सेवाले बताउदै आएको छ। चट्टानयुक्त क्षेत्र भएकाले ब्रेकरसंगै ढुङ्गा खस्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि समेत बाटो बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको कम्पनीले जनाएको छ।

सडक डिभिजन कार्यालय नुवाकोटद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्