दोब्बर बढ्यो लघु, साना उद्योगको दर्ता



कुल १ खर्ब ८५ अर्बका ८३ हजार उद्योग दर्ता

काठमाडौं,पुस ५ । कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ । उद्योग विभागले केही दिनअघि सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक २०७७÷७८’ अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यस्ता उद्योग दर्ता र प्रस्तावित कुल पूँजी पनि बढेको छ ।

विभागले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा यस्ता उद्योगको दर्ता उल्लेख्य वृद्धि भएको छ । उक्त वर्ष ७७ ओटै जिल्लामा गरी ८३ हजार ३८६ उद्योग दर्ता भएका छन्, जुन यो त्यसको अघिल्लो वर्षभन्दा झन्डै दोब्बरले बढी हो ।

त्यस वर्ष कुल दर्ता भएका ती उद्योगको प्रस्तावित कुल पूँजी १ खर्ब ८५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने ती उद्योग सञ्चालनमा आउँदा रोजगारी पाउनेको संख्या ३ लाख ११ हजार ६९३ हुने प्रारम्भिक अनुमान छ ।

आर्थिक वर्ष २०७६/७७ मा मात्रै ७७ ओटै जिल्लामा कुल ४८ हजार ८५४ ओटा यस्ता उद्योग दर्ता भएका छन् । २०७६/७७ मा कुल दर्ता भएका उद्योगमा प्रस्तावित कुल पूँजी १ खर्ब ११ अर्ब १५ करोड रहेको छ ।

यी दर्ता उद्योग सञ्चालनमा आउँदा १ लाख ६९ हजार ७७१ जनाले रोजगार पाउने प्रक्षेपण गरिएको छ । विभागका अनुसार २०७६/७७ मा कुल दर्ता उद्योगमध्ये सबैभन्दा धेरै कृषि तथा वनजन्यका २२ हजार ९७ उद्योग दर्ता भएकामा गत आर्थिक वर्षमा भने यो क्षेत्रका दर्ता हुने उद्योगको संख्या ४८ हजार ८५२ रहेको छ ।

प्रतिवेदन लेखनमा संलग्न तथ्यांक अधिकृत पुष्पराज शिवाकोटी कोरोना महामारीपछि मुलुकमै केही गरौं भन्ने युवाको संख्या बढ्दा कोरोनाकै बीचमा पनि उद्योग दर्ताको संख्या बढेको बताउँछन् । विदेशिएका युवा नेपालमै आएका र कतिपय विदेश जान र यही बसोवास गर्दै आएकाहरूले पनि मुलुकभित्रै केही गरौं भन्ने चाहना राखेकैले दर्ता संख्यामा बढोत्तरी देखिएको उनको आकलन छ ।

विभागले यी २ आर्थिक वर्षका साथै शुरूदेखिकै तथ्यांक उक्त प्रतिवेदनमा समेटेको छ । यी २ वर्षको तथ्यांकसहित हालसम्म मुलुकभर लघु, घरेलु तथा साना उद्योगको संख्या ४ लाख ८७ हजारभन्दा बढी पुगेको छ ।

प्रादेशिक आधारमा यस्ता उद्योग दर्ता सबैभन्दा बढी वागमती प्रदेशमा ३२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा दर्ता भएका छन् । विभागको तथ्यांकअनुसार कर्णालीमा जम्मा ५ प्रतिशत लघु, घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यसैगरी अन्य प्रदेशमा लुम्बिनीमा १७, प्रदेश १ र २ मा समान १४÷१४ प्रतिशत, गण्डकीमा ११ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ७ प्रतिशत यस्ता उद्योग दर्ता भएका छन् ।

त्यस्ता उद्योगलाई विभिन्न ८ तहमा राखेर वर्गीकरण गरिएको छ । त्यसमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटन र सेवामूलक उद्योग दर्ता संख्या बढी छ ।

विभागको तथ्यांकअनुसार हालसम्म दर्ता भएकामध्ये सबैभन्दा बढी सेवामूलक उद्योग छन् । हालसम्म १ लाख ७८ हजार ६६२ सेवामूलक उद्योग दर्ता भएका छन् भने सबैभन्दा कम सूचनाप्रविधिका उद्योग छन् । लघु, घरेलु तथा साना उद्योगको वर्गीकरणभित्र हालसम्म जम्मा ४१२ उद्योग दर्ता छन् भने खनिजजन्य उद्योगको संख्या पनि कम छ । विभागले यो तथ्यांकमा आर्थिक वर्ष २०५१/५२ देखिको दर्तालाई समेटेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार यस्ता उद्योगले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा झन्डै २२ प्रतिशत योगदान दिएका छन् भने २५ लाखभन्दा बढी व्यवसायी छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्