वीरगञ्ज नाकाबाट बढ्यो वैदेशिक व्यापार



रू. २ खर्ब ९० अर्बको आयात हुँदा ४९ अर्बको निर्यात

वीरगञ्ज,पुस ५ । वैदेशिक व्यापार परिमाणका आधारमा मुख्य भन्सार वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा आयात निर्यात कारोबार उल्लेख्य बढेको छ । भन्सार कार्यालयका अनुसार यस अवधिमा २ खर्ब ९० अर्ब ८५ करोड रुपैयाँको मालसामान आयात हुँदा ४९ अर्ब ४१ करोड रुपैयाँबराबरको स्वदेशी उत्पादन निकासी भएको छ ।

चालू आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा यस भन्सारबाट कुल ३ खर्ब ४० अर्ब २६ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो व्यापार परिमाण गत आवको समीक्षा अवधिको तुलनामा ८७ प्रतिशत बढी हो ।

गत आवको उक्त अवधिमा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा परेकाले वैदेशिक व्यापार घटेकोमा चालू वर्ष व्यापार लयमा फर्किएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

गत आवको शुरूको ५ महीनामा कुल वैदेशिक व्यापारको परिमाण १ खर्ब ८१ अर्ब रुपैयाँबराबर थियो । आयात तथा निर्यात दुवैतर्फको व्यापारमा दक्षिण छिमेकी भारत मुख्य साझेदार रहेको छ ।

यस अवधिमा भारतबाट मात्रै २ खर्ब ३ अर्ब रुपैयाँको मालसामान भित्रिएको छ । भारतमा निकासीतर्फ यो परिमाण ४७ अर्ब रुपैयाँ रहेको भन्सारको सूचना तथा प्रविधि शाखाको तथ्यांक छ । तुलनात्मक रूपमा वैदेशिक व्यापार बढेपछि त्यसको सकारात्मक प्रभाव भन्सारले उठाउने राजस्वमा पनि देखिएको पौडेलले बताए । ‘आयात निर्यात कारोबार बढेपछि भन्सारले उठाउने राजस्वमा त्यसको प्रभाव देखिएको छ । मङ्सिरसम्मको राजस्व लक्ष्यभन्दा ७ प्रतिशत बढी उठेको छ,’ पौडेलले भने ।

वीरगञ्ज भन्सारले चालू आवको ५ महीनामा ८८ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिका लागि वीरगञ्ज भन्सारलाई ८२ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएको थियो ।

अघिल्लो वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिको यस्तो राजस्व ५८ अर्ब १५ करोड रुपैयाँ उठेको थियो ।  

वीरगञ्ज नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, सवारीसाधन, औद्योगिक कच्चा पदार्थ बढी आयात हुन्छ । निर्याततर्फ भटमासको तेल, फलफूलको जुस, जुत्ता, सूर्यमुखीको तेल, छाला, कपडालगायत वस्तु रहेको भन्सारले बताएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्