बथनाह–विराटनगर कार्गाे रेल सञ्चालन : सरकारी टोलीले गर्‍यो प्राविधिक अध्ययन



विराटनगर,पुस ५ । भारतको बथनाहबाट विराटनगरको आईसीपीसम्म कार्गाे रेल सञ्चालन सम्बन्धमा प्रक्रियागत तयारी अघि बढाइएको छ । अहिले विराटनगरका लागि माल लिएर आएका कतिपय कार्गाेले ७ किलोमीटर दक्षिण बथनाहामै अनलोड गर्ने र त्यहाँबाट मालवाहक ट्रकमा आईसीपीसम्म ल्याउनुपर्ने बाध्यता छ ।

रेलवे प्राविधिहरूले २ वर्षअघि नै सुझाएको आधारमा सरकारी टोलीले शुक्रवार र शनिवार आईसीपीसम्म रेलवे सञ्चालनको सम्भावनाबारे स्थलगत अध्ययन गरेको छ । टोलीमा परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर क्षत्री, सहसचिव तीर्थराज वाग्ले, सहसचिव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मी, शाखा अधिकृत सुसना शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव केशवराज शर्मा, रेलवे विभागका सिनियर डिभिजनल इन्जिनीयर अमन चित्रकार, नेपाल इन्टरमोडल यातायात विकास समितिका महानिर्देशक आशिष भुजेल र इन्जिनीयर शोभाकान्त राउत सहभागी थिए ।

विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाका अनुसार शुक्रवार रेलवेको अध्ययन गरि टोली राजधानी फर्केको छ । प्राविधिकलगायत सम्भाव्यताको अध्ययनपछि कार्गाे रेल आईसीपीसम्म ल्याउन अवरोध नरहेको ठहर गरी टोलीले प्रधानमन्त्री कार्यालयलाई सुझाव दिनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला दुवै देशबीच आईसीपीसम्म कार्गाे रेल सञ्चालनबारे सहमति भए प्रक्रिया अघि बढ्ने बताइएको छ । त्यसका लागि पूर्वाधारसमेत तयारी अवस्थामा छ । बथनाहबाट सोझै आईसीपीसम्म कार्गो आउने अवस्था आएमा ढुवानी भाडासमेत सस्तो पर्ने र त्यसले उपभोक्तालाई समेत राहत हुने नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले बताए ।

यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत कार्गो रेल सञ्चालन सम्बन्धमा अध्ययन र सहजीकरण गरेको थियो । यसका लागि सबै तहका सरकारी निकायको पहल र समन्वयसँगै प्रधानमन्त्रीको भारत भ्रमणको बेला उच्चस्तरीय छलफल गर्ने तहसम्मको तयारी थालिएको छ । उक्त अवसरमा कार्गो रेल सञ्चालनको बाटो खुलाउन पहल गर्नेगरी सरकारीस्तरमा छलफल शुरू गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय, भारतीय पक्षसँग छलफल गर्नेस्तरमा पुगेको जानकारी दिए । । आईसीपीको रेल स्टेशनसम्म कार्गो रेल सञ्चालन गर्न सकिने विज्ञको सुझावका आधारमा केही प्रक्रियागत पहल थालिएको रेग्मीको भनाइ छ ।

रेलवे विभागका महानिर्देशक दीपक भट्टराईका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका बेला आइसीपीसम्म कार्गो रेल ल्याउने विषयमा दुईपक्षीय सम्झौता गर्न सकिने विषयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काम अघि बढेको हो । त्यसका लागि प्राविधिकलगायतको टोलीले विराटनगरको रानीमा रहेको आईसीपी र रेलवे कस्टम यार्डलगायतको अध्ययन गरिरहेको छ । ‘रेलवे सम्पन्न भएर हस्तान्तरण हुँदा आफूहरूले जिम्मा लिए पनि अहिलेको रेलमार्ग व्यापारसँग पनि जोडिएकाले यसमा वाणिज्य मन्त्रालयले सहजीकरण गरिरहेको हो,’ भट्टराईले भने । उनका अनुसार कुन मोडेलमा कार्गाे सेवा सञ्चालन गर्ने भन्नेबारे अध्ययन भइरहेको छ । नेपाल–भारत रेलवे निर्माण सम्झौतामा बथनाह–कटहरी १८.६ किलोमीटरको दूरी निर्माण गरिने उल्लेख छ । निर्माण सम्पन्न भइसकेपछि मात्रै हस्तान्तरण गर्ने विषय उल्लेख छ । अहिले भारतीय पक्षसँग निर्माण भइसकेको क्षेत्र उपयोग गर्दै बाँकी काम पूरा गर्न सकिने सम्भावनाका बारेमा छलफल थालिएको छ ।

रेलमार्गको १८ दशमलव ६ किलोमीटरमध्ये निर्माण सकिएको ७ किलोमीटर दूरीबाहेकको काम अहिले भइरहेको छ । बथनाहा रेलवे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको ७ किलोमीटर दूरीमा २०७६ कात्तिकमा रेलवे लिक परीक्षण गरिएको थियो । नेपाल कस्टम यार्डमा अहिले पैदल यात्रुका लागि ओभर ब्रिज बनाउने कामसमेत भइरहेको छ ।

एशियाली विकास बैंकका परामर्शदाता श्याम दाहाल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजूले गत जुलाई–अगस्टमा स्थलगत अध्ययन गरेर आईसीपीसम्म कार्गो रेल सञ्चालनको सम्भावना रहेको सुझाव दिएका थिए । त्यसैका आधारमा अहिले मन्त्रालयले बाँकी प्रक्रियागत पहल लिइरहेको छ ।

मन्त्रालयका प्रवक्ता रेग्मीले उच्च तहमा कार्गो रेल ल्याउने विषय छलफल भइरहेको दाबी गर्दै त्यसका लागि अन्तरसरकारी निकाय समन्वयको काम मन्त्रालयले गरिरहेको बताए । कार्गो रेल सञ्चालनका लागि पहिलो चरणमा नेपालले ८७५ मिटर लम्बाइ र ३१ मीटर चौडाइको यार्ड र आईसीपीसम्मको पहुँच मार्ग निर्माण गर्नुपर्नेछ । यार्ड निर्माणका लागि ६ करोड ८४ लाख र पहुँच मार्ग निर्माणका लागि ६३ लाख खर्च हुने अनुमान गरिएको छ । दोस्रो चरणमा अधिग्रहण भइसकेको रेलवेको जग्गा र आईसीपीभित्रको खाली क्षेत्र समेटेर ४० मीटर चौडाको कन्टेनर प्लाटफर्म विकास गर्न प्रस्ताव गरिएको छ । यसका लागि ४२ करोड ८८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पहिलो र दोस्रो चरणको विस्तारपछि कन्टेनर यार्ड ७१ मीटर चौडाइको हुनेछ । कार्गो रेल सञ्चालनका लागि एकीकृत भन्सार जाँच चौकी, रेलवे र भारतीय भन्सारबीच विराटनगर भन्सारले समन्वयको काम गर्ने बताइएको छ । विराटनगर भन्सारका प्रमुख ताराप्रसाद सापकोटाले व्यापार सहजीकरण बैठकमा कार्गो रेल ल्याउने विषयमा छलफल गरिने बताए । रेल सञ्चालनमा आए विराटनगर भन्सारमार्फत भारत तथा तेस्रो मुलुकमा हुने निकासी र तेस्रो मुलुकबाट पैठारीमा हाल लाग्दै आएको ढुवानी खर्चमा ३५ प्रतिशतले कमी आउनेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्