माधवको टिप्पणी- ‘एमाले वामपन्थ होइन, रामपन्थ’



काठमाडौं,पुस ५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले वामपन्थी शक्ति नभएर रामपन्थी शक्ति भएको टिप्पणी गरेका छन् ।

केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिनलाई ‘कालो दिन’को रुपमा व्यख्या गर्दै समाजवादी प्रेस संगठन, नेपालले सोमबार आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक बहसमा सहभागी अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष नेपालले भने– ‘आफूलाई असली वामपन्थी शक्तिको रुपमा दावी गर्दै आएको एमाले वामपन्थी नभएर रामपन्थी भएको छ । अग्रगमनकारी नभएर प्रतिगामी भएको छ ।’

पछिल्लो समय एमालेका ओली धार्मिक पात्र राम नेपालमै जन्मेका हुन् भन्दै राम मन्दिर बनाउन लागिरहेको विषयलाई जोडेर अध्यक्ष नेपालले एमालेलाई रामपन्थी भनेका हुन् भने गतसाल पुस ५ गते ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर एमालेलाई प्रतिगमनकारी भनेका हुन् ।

विगतमा अग्रगमनकारी शक्ति एक हुँदा ओली प्रतिगमन असफल भएपनि ओली पुनः प्रतिगमनको पक्षमा रहेको बताउँदै अध्यक्ष नेपालले कुनैपनि प्रतिगमन सफल नहुने समेत बताए । प्रतिगमनविरुद्ध संघर्ष गरेका राजनीतिक शक्ति एकै ठाउँमा रहेको बताउँदै कुनै पनि परिस्थितिमा प्रतिगमन सफल हुन नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्