कोभिडसँगै चीनतर्फ ‘पर्यटन मार्केटिङ’ ठप्प



नोभेम्बरसम्म जम्मा ३ हजार चिनियाँ पर्यटन नेपालमा

काठमाडौं,पुस ६ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको चीनतर्फ नेपालको पर्यटन मार्केटिङ अर्थात् प्रचारप्रसार र प्रर्वद्धनको काम विगत २ वर्षदेखि ठप्प भएको छ । भारतपछि नेपालमा चीनबाट आउने पर्यटकको संख्या उच्च भए पनि कोरोनाको शुरुवाती चरणदेखि नेपालका पर्यटन व्यवसायीहरूले उक्त देशमा नेपालको प्रचारप्रसार तथा मार्केटिङका कुनै पनि कार्य सञ्चालन गर्न पाएका छैनन् ।

सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी हुँदै गर्दा यसको प्रचारप्रसार गर्न भन्दै नेपालका सरकारी अधिकारी तथा पर्यटन व्यवसायीसहितको टोली सन् २०१९ नोभेम्बरको पहिलो हप्ता चीनतर्फ गएको थियो । त्यसयता हालसम्म चीनतर्फ नेपालले कुनै पनि प्रचारप्रसारका कार्यक्रमहरू लैजान सकेको छैन । पर्यटन व्यवसायीहरूले कोरोना भाइरसका बीच अपनाइएका बन्दाबन्दी, निषेधाज्ञाजस्ता मापदण्डका कारण र चीनमै कडा नीति अपनाइँदा प्रचारप्रसारका लागि जान नसकेको बताए ।

होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यले सन् २०१९ को अन्तिममा भ्रमण वर्षको प्रचारप्रसारका लागि गएको भए पनि त्यसयता जान नसकिएको बताए । कोरोना भाइरस संक्रमणकै कारण ल्याइएका नीतिलाई पालना गर्दा त्यसतर्पm जान नसकेको भए पनि अबको बजार रणनीतिमा चीनतर्फ पनि प्रचारप्रसारलाई जोड दिन आवश्यक भएको बताए । ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ सूचकांकमा सन् २०१९ मा नेपालमा भ्रमणमा आउने पर्यटकको संख्याको दोस्रो स्थानमा रहेको चीनलाई उछिन्दै सन् २०२० मा भने म्यानमार दोस्रो स्थानमा उक्लेको छ ।

सन् २०१६ देखियता चीनबाट आउने पर्यटकको संख्या हेर्दा क्रमशः बढेको देखिएको छ । तर, कोभिड देखिएको वर्ष सन् २०२० यता भने यो संख्या अत्यन्त न्यून भएको छ । सन् २०१९ मा झन्डै १ लाख ७० हजार पुगेको चिनियाँ पर्यटकको संख्या सन् २०२० मा १९ हजार आसपासमा रहेको छ, भने सन् २०२१ को नोभेम्बरसम्ममा आउँदा नेपालमा जम्मा ३ हजार २३९ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

सन् २०२१ म अन्य देशका पर्यटक बढे पनि चिनियाँ पर्यटक आगमनमा सुधार हुन भने सकेको छैन । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्